
पोखरा। कास्कीको छोरेपाटनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कालो मसी छर्किएको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ परेकाहरू नेपाल कम्युनिष्ट पार्टी र त्यससँग आबद्ध विद्यार्थी संगठनसँग सम्बन्धित रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
असार २७ गते बिहान करिब ८:४५ बजे पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित श्री छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ६७ वर्षीय बद्री पहारीमाथि दुई जना अपरिचित व्यक्तिले अनुहारमा कालो मसी छर्केर फरार भएका थिए।
घटनापछि प्रहरीको टोलीले तत्काल अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा मुख्य योजनाकारको रूपमा परिचित सुजन आयम उर्फ लोकेन्द्र विश्वकर्मा ३५ वर्षीयलाई पोखरा-९, नयाँबजारबाट पक्राउ गरिएको हो। उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य समेत हुन्।
यस्तै, प्रत्यक्ष रुपमा कालो मसी छर्किने कार्यमा संलग्न रहेका नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेशका संयोजक राजन साउद २६ वर्षीय र कास्की जिल्ला संयोजक वासुदेव बुढा १८ वर्षीयलाई क्रमशः पोखरा-१४ औद्योगिक क्षेत्र र पोखरा-५ प्रस्याङबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
तीनै जनालाई “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर” अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। साथै, उनीहरूमाथि “आपाराधिक लाभ (एक्सटर्सन) लिन नहुने” कसूरमा समेत जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिइएको छ।
पक्राउ परेकासँग विभिन्न संगठनहरूद्वारा प्रयोग गरिएका सहयोग रसिद, सूचना पत्र, आर्थिक सहयोग माग गर्ने पत्रहरू, राजनीतिक दस्तावेज, फ्लेक्स ब्यानरहरू, डायरी, पुस्तक र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका मुख्य सामग्रीहरूमा क्रान्तिकारी विद्यार्थी संगठनका नाममा काटिएको ३२ थान सहयोग रसिद, आर्थिक सहयोग माग गर्दै विभिन्न कार्यालयमा पठाइएको ६० थान पत्र,पार्टीका नाममा प्रयोग गरिएको १७ थान खाम, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नवौं महाधिवेशन प्रतिवेदन र विधान, क्रान्तिकारी ट्रेड युनियन महासंघको क्याप टोपी, मोबाइल फोन ३ थान तथा विभिन्न ब्यानर, डायरी तथा पुस्तकहरू रहेका छन् ।
प्रहरीका अनुसार अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य पक्षबारे थप विवरण संकलन भइरहेको छ।
