
पोखरा। कृषि ज्ञान केन्द्र कास्कीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चालु आर्थिक वर्षको लागि विनियोजित बजेट तथा नीति कार्यक्रमअनुसार जिल्लामा सञ्चालित योजनाहरूको समीक्षा गरिएको थियो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरे। प्रमुख पौडेलले कृषिको आधुनिकीकरण तथा व्यावसायिकीकरणको नीतिलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेकोमा जोड दिए। साथै, उत्पादनमुखी रणनीतिलाई अझ प्रभावकारी बनाउँदै बजारसम्म पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले किसानहरूका उत्पादन बजारसम्म नपुगेको गुनासो बढिरहेको बताउँदै, सरकारी निकायहरूलाई बजारीकरण सहज बनाउने, तथा क्रय-विक्रय र विनिमय प्रणाली सरल बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले चालु वर्षमा ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिए। उनले कास्की जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुने दिशातर्फ अघि बढिरहेको बताउँदै, हालसम्म ८० हेक्टर क्षेत्रमा आलु खेती विस्तार गरिएको जानकारी दिनुभयो। यसलाई जिल्लाको सबैभन्दा ठूलो आलु विस्तार कार्यक्रमको रूपमा प्रस्तुत गरे।
सिग्देलले स्थानीय स्रोत प्रयोग गरी निर्माण गरिएका टनेलहरू प्रभावकारी देखिएको बताउँदै, फलफूल बगैंचा सुदृढीकरण कार्यक्रम पनि सफल भएको उल्लेख गरे। साथै, देखिएका कमजोरी क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै रैथाने बाली संरक्षण कार्यक्रमअन्तर्गत उवा बालीको व्यावसायिक उत्पादन र प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल भएको जानकारी दिए।
कार्यक्रममा जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने कृषकहरूमा नरेन्द्र प्रसाद पौडेल अन्नपूर्ण गाउँपालिका, जोरेली मिया रूपा गाउँपालिका, कृष्ण प्रसाद दाहाल माछापुच्छ्रे गाउँपालिका तथा पिन शोभा गुरुङ पोखरा महानगरपालिकाका रहेका छन्। उनीहरूलाई जनही रु १० हजार नगद, दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो।
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ प्रशासन सहायक सोमलाल तिवारीले गरेका थिए भने सञ्चालन कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले गरेका हुन्। कार्यक्रममा कास्की जिल्लाका विभिन्न सरकारी निकायका प्रतिनिधि, कृषक, विज्ञ समूह र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


