
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार र सम्मानका विषयमा जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताएका छन्। उनले ज्येष्ठ नागरिकलाई सम्मान र आत्मसम्मानको अनुभूति गराउन सकिने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिए।
ज्येष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा-३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरूको समस्याको पहिचान र समाधान खोजी गर्नु जरूरी भएको उल्लेख गरे।
उनले पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइने गरिएको जानकारी गराउँदै, ज्येष्ठ नागरिकका मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्द्धन, साथै उनीहरूविरुद्ध हुने दुर्व्यवहार, हिंसा र विभेदको अन्त्य गर्न आवश्यक रहेको बताए।
राज्यको तर्फबाट ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु दायित्व रहेको उल्लेख गर्दै, उनले यस क्षेत्रमा विभिन्न संघसंस्था र निजी क्षेत्रको सक्रियता देखिनु सुखद पक्ष भएको बताए।
“असहाय, निःसहाय, दीनदुःखी ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव सेवा आश्रम र सामुदायिक वृद्धाश्रमहरू क्रियाशील छन्,” उनले भने, “ज्येष्ठ नागरिकलाई सामाजिक रूपमा सम्मान गर्ने संस्कारको विकास हुँदै गएको छ, जुन सकारात्मक परिवर्तन हो।”
उनले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित शिव महापुराण, हवन, पूजा-अर्चनाजस्ता कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याण र विश्व शान्तिका लागि धार्मिक स्थलहरूको व्यवस्थापन तथा पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन-अनुसन्धान गर्ने स्थलका रूपमा विकास गर्ने लक्ष्य पूरा होस् भन्ने कामनासमेत उनले गरे।
