
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा अवस्थित गण्डकी प्रदेशमै ख्यातिप्राप्त सामुदायिक विद्यालय छोरेपाटन माविका पूर्व विद्यार्थीहरूको साझा संस्था-छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चमा आजीवन सदस्य बन्ने क्रम तीव्र रूपमा बढ्दै गएको छ।
संस्था २०६१ सालमा दिपकराज बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको थियो। प्रारम्भमा केही वर्ष सक्रिय रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरे पनि कार्यसमिति सदस्यहरूको व्यस्तता र कार्यालय व्यवस्थापनको अभावका कारण संस्था केही समय निष्क्रिय रह्यो।
२०७९/८० सालतिर विद्यालयका सहायक प्रधानाध्यापक तथा पूर्व विद्यार्थी खेमराज बराल ‘ध्रुव’, पूर्व विद्यार्थीहरू हिमलाल उपाध्याय र कृष्ण रानाभाटको सक्रियतामा आयोजित भेलाबाट सञ्चारकर्मी कृष्ण रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरियो।
संस्थाले दर्ता प्रक्रिया पूरा गरेपछि विद्यालयमा विविध कार्यक्रमहरू गर्दै आएको छ। मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायका अनुसार, हालसम्म विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ड्रेस वितरण, पत्रकारिता तालिम, चित्रकला प्रतियोगिता, साहित्यिक कार्यक्रम, विद्यालय परिसरको सरसफाइ, पूर्व विद्यार्थीहरूबीच पुनर्मिलन तथा वनभोज कार्यक्रम, र करिब २३ सय विद्यार्थीको आँखा परीक्षण (३ दिनसम्मको आँखा स्क्रिनिङ) जस्ता कार्यहरू सम्पन्न गरिएका छन्।
यी कार्यक्रम सफल बनाउन विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सिटिजन फर्निचर (न्युरोड), हिमालय आँखा अस्पताल (घारीपाटन), पोखरा महानगरपालिका सरसफाइ शाखा, स्वतन्त्र पत्रकार संघ कास्की, सहायक प्रधानाध्यापक खेमराज बराल (ध्रुव), देवराज आचार्य, रेनुका थेबे लगायतले विशेष सहयोग गरेका कोषाध्यक्ष कविता गुरुङले जानकारी दिइन्।
संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि गर्दै आएको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले वर्षौँदेखि विद्यालयले प्रयोग गर्दै आएको डेभिस फल क्षेत्र तेस्रो पक्षलाई लिजमा दिन लागेको विषयमा मञ्चले विरोध जनाउँदै उक्त सम्पत्ति विद्यालयकै हुनुपर्ने धारणा राखेको छ।
सचिव शालिकराम भण्डारीका अनुसार, सदस्यता विस्तार अभियान अन्तर्गत सञ्चालित घरदैलो कार्यक्रमपछि धेरै पूर्व विद्यार्थी संस्था प्रति आकर्षित भई आवद्ध हुने इच्छा व्यक्त गरिरहेका छन्।
