२९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त स्याङ्जाबाट पक्राउ

Share:

पोखरा । करिब तीन दशकदेखि फरार रहँदै आएका एक कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको विशेष टोलीले पक्राउ गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार, मिति २०५२ साल चैत्र २२ गते तनहुँ जिल्लाको साविक ढोरफिर्दी गाविस वडा नं. ८ र भानुमति गाविस वडा नं. ७ को सिमानामा पर्ने क्यांडी खोला र वरखोला बीच लागेको मेलामा सामान्य विवादका क्रममा चित्रबहादुर खाँणमाथि खुकुरी तथा छुरी प्रहार गरी हत्या गरिएको थियो।

उक्त घटनापछि फरार रहेका तनहुँको साविक भानुमति गाविस वडा नं. ९ हाल भिमाद नगरपालिका वडा नं. ८ निवासी फत्तबहादुर शाही (फिरोज) लाई तनहुँ जिल्ला अदालतले मिति २०६० माघ २८ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो।

पटक-पटक खोजी गर्दा समेत उम्किँदै आएका ५१ वर्षीय शाहीलाई गण्डकी प्रदेश प्रहरीको टोलीले विशेष सूचनाका आधारमा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका-४ घुर्लिचौरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: