२८ वर्षपछि फेवातालको सीमाङ्कन कार्य सम्पन्न, पोखराको सम्पदा संरक्षणमा ठूलो उपलब्धि

Share:

पोखरा । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पोखरास्थित फेवातालको सीमाङ्कन कार्य सम्पन्न भएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त प्रयासमा तालको चारकिल्ला निर्धारण गरी सीमा स्तम्भ (पिल्लर) जडान गरिएको हो।

पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार, फेवातालको सीमा क्षेत्रमा कूल १,०५५ वटा डिजिटल पिल्लर जडान गरिएको छ, जसमा ६११ वटा कंक्रिटका छन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको आदेश अनुसार सम्बन्धित निकायहरूसँग समन्वय गर्दै ताल संरक्षणका थप कामहरू अगाडि बढाइने बताए। उनले सीमाङ्कन कार्यलाई ‘ऐतिहासिक सफलता’ को रूपमा उल्लेख गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबै निकाय, प्राविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतलाई आभार व्यक्त गरे।

महानगरका अनुसार पहिलो चरणमा सीमा स्तम्भ जडान कार्य सम्पन्न भइसकेको छ भने दोस्रो चरणको कार्य तयारी चरणमा रहेको छ। यस सीमाङ्कनले फेवातालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेको छ। सरोकारवाला निकायहरूले यस कार्यलाई पोखराको पर्यावरणीय सन्तुलन, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानको संरक्षणका दृष्टिले ऐतिहासिक र दूरदर्शी पहलको रूपमा लिएको विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: