पत्रकार रुद्र श्रीष मगर राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित

Share:

पोखरा। पोखरामा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार रुपैयाँसहित सम्मानित भएका छन्। यो पुरस्कार राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति द्वारा स्थापना गरिएको हो भने नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षण गरिएको हो। बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका अवसरमा श्रीष मगरलाई सम्मान गरिएको हो।

सम्मान ग्रहण गर्दै श्रीष मगरले पुरस्कारले आफुलाई खुशी मात्र नभई थप जिम्मेवारी पनि अनुभूति गराएको बताए। उनले मगर समुदायको सांस्कृतिक र सामाजिक पहिचानका रूपमा रहेको संस्कार र मौलिकता जोगाउन नयाँ पुस्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “मैले पुरस्कार प्राप्त गर्ने उद्देश्यले पत्रकारिता पेसा रोजेको होइन, तर यो पेसामार्फत नयाँ पुस्तालाई समुदायसँग जोड्ने योजनासहित अघि बढ्नु आजको आवश्यकता हो।”

 

भाषा संरक्षणमा सामुदायिक सक्रियता अपरिहार्य

कार्यक्रममा बोल्दै श्रीष मगरले गण्डकी प्रदेश सरकारले मगर रगुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेकाले समुदायले यसमा विशेष चासो दिनुपर्ने बताए।
उनले भने, “यदि मगर र गुरुब समुदायले यो निर्णयलाई व्यवहारमा लागू गर्न सके भने भाषा संरक्षणमा उल्लेखनीय टेवा पुग्नेछ।”

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रूपमा विधेयकमार्फत कानूनी मान्यता दिइसकेको उल्लेख गरे।

उनले भने, “कामकाजी भाषाका रूपमा मगर र गुरुब भाषा ल्याइँदै गर्दा कार्यान्वयन केही जटिल हुन सक्छ। त्यसैले समुदायले प्रदेश सरकारलाई सक्दो सहयोग गर्नुपर्छ।”

मन्त्री थापाका अनुसार, मगर र गुरुङ भाषामा फरक(फरक लिपिहरू प्रयोग हुने जानकारी आएकाले कुन लिपि उपयुक्त हुन्छ भन्नेबारे समुदायबाटै सुझाव आउनु पर्नेमा पनि उनले जोड दिए। विधेयक पास गर्नुअघि स्याङ्जा, तनहुँ लगायतका जिल्लाहरूमा पुगेर समुदायसँग छलफल गरिएकोसमेत उनले जानकारी दिए।

कौराहा संरक्षणका लागि पुरस्कार

नेपाल मगर संघका सांस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले मौलिक मगर संस्कार ‘कौराहा’ को संरक्षणका लागि यो पुरस्कार स्थापना गरिएको जानकारी दिए।

उनले भने, “मगर संस्कृतिको संरक्षणका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्छ।” उनका अनुसार, मगर संस्कार र संस्कृतिमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्नु पुरस्कारको मुख्य उद्देश्य हो।

कार्यक्रममा मन्त्री बिन्दुकुमार थापालाई ‘मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरिएको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मत पारित गराएको अवसरमा’ विशेष सम्मान गरिएको थियो।

त्यस्तै, मिस मगर नेपाल २०२४ की विजेतालाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समितिको टोलीले मौलिक कौराहा नृत्य प्रस्तुत गरेको थियो।

विसं २०७५ सालमा स्थापना गरिएको यो पुरस्कार हालसम्म कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), एमबी आस्था (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) तथा सारदा झेंडी मगर (नवलपुर) जस्ता व्यक्तित्वहरूलाई प्रदान भइसकेको छ।

कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता तथा सहसचिव बल रोका मगरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा छनोट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्की अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, महासचिव जमुना वर्षा शर्मा, कास्की अध्यक्ष माधव बराल प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने लगायतले आफ्ना विचार व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: