
पोखरा । जनकवि केशरी धर्मराज थापाको १०१औं जन्मजयन्तीका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरी उनलाई स्मरण गरिएको छ। शुक्ला साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जनकविका रूपमा राष्ट्रले चिनेका धर्मराज थापालाई उनको जन्मथलोले अझैसम्म उचित सम्मान दिन नसकेकोमा चिन्ता व्यक्त गरे।
उनीहरूले थापाको योगदानलाई केवल स्मरण गरेर मात्र नपुग्ने भन्दै, उनको शालिक निर्माण र जीवनीको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि धर्मराज थापा लगायत क्षेत्रका अन्य साहित्यिक व्यक्तित्वको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले योजनाबद्ध रूपमा नेतृत्व लिनुपर्ने बताए।
उनले महेन्द्र गुफा परिसर जनकविको शालिक निर्माणका लागि उपयुक्त स्थान भएको उल्लेख गर्दै, वडाले स्थलगत निरीक्षणसमेत गरिसकेको जानकारी दिए। साथै, वडाले आवश्यक बजेट विनियोजन गर्न सक्ने तयारीसमेत रहेको र कविको परिवारले पनि जग्गा उपलब्ध गराउने इच्छा व्यक्त गरेको जानकारी दिए।
पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जनकवि थापालाई कुनै एक क्षेत्रको नभई राष्ट्रिय गौरवको लोक साधकका रूपमा वर्णन गर्दै, उनको योगदानलाई जीवन्त राख्न स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेलले कार्यक्रम उद्घाटन गर्दै बाटुलेचौरलाई साहित्य र लोकसङ्गीतको उर्वर भूमि भन्दै, सिर्जनात्मक व्यक्तित्वको सम्मानले नै समाज उन्नत हुने धारणा राखिन्। उनले जनकविले गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिन्।
साहित्यकार एवं पत्रकार असफल गौतमले जनकवि थापाको जीवनी प्रस्तुत गर्दै, उनलाई लोक साहित्य र संगीतको मेरुदण्डका रूपमा चित्रित गरे। कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले गरेका थिए ।
कवि एवं सल्लाहकार शिव त्रिपाठी, प्रतिविम्ब वाङ्मय प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्य, शिक्षासेवी यमनकाजी गुरुङ, पूर्व जनप्रतिनिधि कोमलप्रसाद बास्तोला, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, कार्यक्रम संयोजक हरिबहादुर थापा लगायतले जनकविको जन्मघरलाई ‘कविकुञ्ज’का रूपमा विकास गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पूर्व सदस्य डोबबहादुर केसीलगायतले जनकवि धर्मराज थापाका कालजयी लोकगीत प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले गरेका थिए । कार्यक्रम प्रारम्भमा सहभागीहरूले जनकविको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
