
पोखरा। नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१ मा सबैभन्दा धेरै विद्युत खपत गरी समयमा महसुल तिर्ने उत्कृष्ट उद्योग, व्यवसाय र संस्थालाई सम्मान गरेको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मानित ग्राहकलाई प्रमाणपत्र प्रदान गर्दै प्राधिकरणको विकासमा उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको बताए। उनले प्राधिकरणको प्रगति देशको समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे।
शाक्यले व्यवसाय र उद्योगमा विद्युत प्रयोग बढाउन आग्रह गर्दै विद्युतीय स्रोतको प्रयोगमा सजक र मितव्ययी बन्न अनुरोध गरे। पछिल्ला समय आएको विद्युत अवरुद्धको समस्या वितरण केन्द्रको प्राविधिक कारणले भएको भन्दै प्राधिकरण त्यसको समाधानमा सक्रिय रहेको जानकारी दिए। हिउँद याममा विदेशी विद्युत आयात गरेर सेवा निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सम्मानित उपभोक्तामा होंसी शिवम सिमेन्ट, गोर्खा ब्रेवेरी, सिजी सिमेन्ट, एनसेल, प्रफेक्ट ब्लेन्ड, सिजी ब्रेवेरी, जय श्री फुड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, र मनिपाल कलेज अफ मेडिकल साइन्सजस्ता प्रतिष्ठान रहेका छन्। यी सेवाग्राहीले गण्डकी प्रदेशका विभिन्न वितरण केन्द्रमार्फत उच्च खपत र समयमै भुक्तानी गरेका थिए।
उद्योग प्रतिनिधिहरूले बारम्बारको विद्युत अवरुद्धले उत्पादनमा असर पारिरहेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गरे। कार्यक्रममा गण्डकी प्रदेश प्रमुख विक्रम कुमार अमात्यले हालका निर्माण तथा वितरण आयोजना बारे जानकारी गराए।
