कोशी र गण्डकीमा भारी वर्षा, विभिन्न नदी र खोलामा बाढीको खतरा

Share:

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ। उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ। त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ।

कुनै स्थानमा अति भारी वर्षा भएको छ। वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायता कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ।

वर्षाका कारण आज बिहान साढे ५ बजे इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२.२ मिलिमिटर वर्षामापन भएको छ। इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ।

यसैगरी धनकुटाका त्रिवेणीमा १९५.६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ। धनकुटा बजार, पाख्रीबास, मुलघाट, सुनसरीको धरान बजार, तरहरामा पनि भारी वर्षा भएको छ।

मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ। खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ। लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ। याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसैले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै एसएमएस पठाएको छ।

लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि राम्रै खालको वर्षा भएको छ। नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ। यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: