
पोखरा। पोखरामा बीपी स्मृति एमेच्योर फुटसल प्रतियोगिता सुरु भएको छ। नयाँगाउँ युथ क्लबको आयोजनामा पोखरा रंगशालामा आजदेखि प्रतियोगिता सुरु गरिएको हो। युग पुरुष बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो।
जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति अघि सारेका थिए। उनको यसै सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना दिवंगत साथीहरूको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन्।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुदत्त बरालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको बताए। “बीपी कोइरालाको सोच र विचार मेलमिलाप र राष्ट्रिय एकताको प्रतीक हो,” बरालले भने, “त्यो सोचलाई अब खेलकुदमार्फत अघि बढाउन सकिन्छ। युवाहरूको रोजाइ खेलकुदमा भएकाले यस क्षेत्रमा लगानी बढाई यसलाई व्यावसायिकता दिनु आजको आवश्यकता हो।”
प्रतियोगिताका विजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २/२ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक विकास गुरुङले जानकारी दिए।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ र यसमा करिब ३० टिमको सहभागिता रहेको छ। युवा प्रतिभा उजागर गर्नुका साथै स्थानीय तथा राष्ट्रिय खेलाडीहरूबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो।
प्रतियोगिताबाट हुने आम्दानी तनहुँको भानु नगरपालिका-७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गरिने आयोजकले जनाएका छन्। सो बालगृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आश्रित छन्।
प्रतियोगितामा अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा अमित र अन्तिम गुरुङले मुख्य प्रायोजन गरेका छन्। साथै, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँगाउँ युथ क्लबको पनि सहयोग रहेको छ।
