
पोखरा । नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र पूर्वअध्यक्ष विश्वशंकर पालिखे सहभागी हुँदैछन्।
समारोहमा सहभागी हुन अध्यक्ष कार्की र पूर्वअध्यक्ष पालिखे मंगलबार हिमालय एयरलायन्समार्फत चीनको स्वशासित क्षेत्र तिब्बत प्रस्थान गरेका हुन्। पोखरा विमानस्थलमा संघका कार्यवाहक अध्यक्ष तथा उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य जीवन श्रेष्ठलगायतले उनीहरूलाई विदाइ गरेका थिए।
तिब्बत सरकारले नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो। सो एक हप्ते भ्रमण दलको नेतृत्व गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरिरहेका छन्।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार, भ्रमणका क्रममा अध्यक्ष कार्की र पूर्वअध्यक्ष पालिखेले द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन विस्तार तथा नेपालमा चिनियाँ लगानी भित्र्याउने विषयमा चिनियाँ सरोकारवाला निकायहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
