
पोखरा। पोखरा महानगरपालिका-१४ चाउथेस्थित पृथ्वी राजमार्ग छेउमा जेब्रा झोलाभित्र मृत अवस्थामा भेटिएको नवजात शिशु हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नवजात शिशुको आफ्नै बुवा भएको पुष्टि भएको छ।
गत असोज १३ गते साँझ ५ः१५ बजेतिर जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरेर रातो-गुलाबी ब्लाङ्केटमा राखिएको शिशुको शव फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोली घटनास्थल पुगेका थिए।
पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गराउँदा शिशुको घाँटी र टाउकोमा चोट लागेको कारण मृत्यु भएको पुष्टि भएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा घटनालाई कर्तव्य ज्यान मुद्दाका रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धानका क्रममा उक्त शिशु नुवाकोटको बेलकोटगढी नगरपालिका-५ स्थायी घर भई हाल पोखरा महानगरपालिका-९ नागढुङ्गामा बसोबास गर्दै आएका ३७ वर्षीय गोविन्द लामिछानेको भएको खुलेको छ।
लामिछानेले साउन ४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी पीडामा रहेकी आफ्नी श्रीमतीलाई उपचारका लागि ल्याएको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पछी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
