एमाले नेताहरूको जोड- पुष्पलालका विचार कार्यान्वयनमा लाग्नुपर्ने समय यही हो

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा विश्व कम्युनिष्ट घोषणापत्रका नेपाली अनुवादक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता तथा वक्ताहरूले उनका सपनाहरू आजको यथार्थमा रूपान्तरण गर्नु अपरिहार्य भएकोमा जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर समितिको आयोजनामा फेदीपाटनस्थित पुष्पलाल अनुसन्धान केन्द्रमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै एमाले वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’ले पुष्पलालको योगदानलाई युगान्तकारी भन्दै उनलाई ‘नेपाली लेनिन’को संज्ञा दिए।

नेता अधिकारीले भने, “पारिवारिक पीडासँगै आप्mनो जीवन जनताको मुक्तिका लागि समर्पित गर्ने पुष्पलालले दिएको वैचारिक योगदान, राजनीतिक मार्गदर्शन र संगठन निर्माण आज पनि मार्गदर्शक शक्ति हो। अहिलेको आवश्यकता जनगणतन्त्रको सुदृढीकरण गर्दै वैज्ञानिक समाजवादको बाटो हुँदै साम्यवादतर्फ अघि बढ्नु हो।”

कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले देशको समृद्धि र जनताको अधिकार सुनिश्चित गर्न एमाले नै सक्षम पार्टी रहेको दाबी गरे। उनले पार्टी कार्यकर्ताहरूलाई संगठित र एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

एमाले पोखरा महानगर अध्यक्ष जीवन आचार्यले विकट ठाउँमा जन्मिए पनि पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको ऐतिहासिक भूमिकाको चर्चा गरे। उनले पुष्पलालजस्ता नेताको योगदान भावी पुस्ताका लागि प्रेरणा बन्ने बताए।

महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव शुशिल वस्नेतले पनि पुष्पलालको योगदान र विचारहरू आजको राजनीतिक दिशा निर्धारणमा अझै सान्दर्भिक रहेको बताए। कार्यक्रममा पुष्पलाल अनुसन्धान केन्द्र परिसरमा स्थापित पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका अग्रणी नेता वलराम उपाध्यायको अर्धकद शालिकमा माल्यार्पण गरिएको थियो।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न तहका पार्टी नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। त्रिदिवसीय स्मृति कार्यक्रम अन्तर्गत साउन ५ गते पोखरा-७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कमा सरसफाइ अभियान सम्पन्न गरिएको थियो। यस्तै, साउन ७ गते राष्ट्रिय युवा संघद्वारा पृथ्वीचोकमा खुला रक्तदान कार्यक्रम र पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठी आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: