पोखरा-२५ मा १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सुरु

Share:

पोखरा। पोखरा-२५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सुरु गरिएको छ। ट्याङ्कीको शिलान्यास पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोतीराम तिम्सिनाले गरे। लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन तथा द रोमसे स्कूल युके को सहयोगमा उक्त ट्याङ्की निर्माण हुन लागेको हो।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार ट्याङ्की निर्माणको अनुमानित लागत २ लाख ८० हजार रुपैयाँ रहनेछ। सो लागतमध्ये २ लाख रुपैयाँ द रोमसे स्कूल मार्फत लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सहयोग गर्नेछ भने बाँकी रकम गौरीशंकर क्याम्पसले व्यहोर्नेछ।

कार्यक्रमका निर्देशक एवं क्लबका पूर्वअध्यक्ष सोनाम साङ्पोले करिब २२ वर्षअघि पोखराका विद्यालयहरूमा गरिएको एक अध्ययनमा ७० प्रतिशत विद्यार्थीमा दूषित पानीका कारण स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्मरण गरे। त्यसपछि स्वच्छ पानीका लागि गरिएको प्रयासस्वरूप सन् २०१७ देखि विद्यालयहरूमा खानेपानी ट्याङ्की निर्माण सुरु गरिएको जानकारी दिए।

“८ वर्षको अवधिमा ४९ वटा ट्याङ्की निर्माण गरी विभिन्न विद्यालयहरूलाई हस्तान्तरण गरिसकिएको छ,” साङ्पोले भने, “गौरीशंकर क्याम्पसको यो ट्याङ्की ५४ औं हो।” उनले सन् २०२५र२६ मा पोखराका थप ८ विद्यालयमा ट्याङ्की निर्माण गर्ने योजना रहेको बताए।

प्रत्येक ट्याङ्की निर्माणका लागि क्लबले २ लाख रुपैयाँ सहयोग गर्ने र थप लागत सम्बन्धित विद्यालय वा क्याम्पसले बेहोर्ने व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए। यस परियोजनाअन्तर्गत द रोमसे स्कूल युके का २३ जना विद्यार्थी पोखरा आएका छन्, जसले ४ दिनसम्म क्याम्पस परिसरमै बसेर ट्याङ्की निर्माणमा स्वयंसेवा गर्दैछन्।

शिलान्यास कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल, सञ्चालक समिति अध्यक्ष देवकृष्ण पौडेल, लायन्स इन्टरनेशनल ३२५ एम नेपालका गण्डकी एरिया संयोजक महेश श्रेष्ठ, जोन ९ का जोन चेयरपर्सन तिर्थ श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सेन्टेनियलका अध्यक्ष, लायन्स क्लब अफ पोखरा हेमजाका पूर्वअध्यक्ष सन्तमान श्रेष्ठ लगायत लायन्सका पदाधिकारी, क्याम्पसका प्राध्यापक, सञ्चालक समिति सदस्य र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: