
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले पार्टीका केही नेताहरूमाथि गरिएको अनुशासन कारबाही फिर्ता लिन माग गरेको छ। क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा र अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई छुट्टाछुट्टै पत्र पठाउँदै उक्त कारबाही अनुमोदन नगर्न अनुरोध गरेको हो।
नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, र भावना श्रेष्ठलगायत नेतामाथिको अनुशासन कारबाही गैरसंवैधानिक, भेदभावपूर्ण, अपरिपक्व र असान्दर्भिक भएको भन्दै कारबाही फिर्ता गर्न माग गरिएको छ।
क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “२०७९ सालको स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई आधार बनाएर ३ वर्षपछि गरिएको कारबाहीले पार्टी विधानको मर्म र प्रक्रियालाई बेवास्ता गरेको छ।”
गत असार २५ गते गरिएको निलम्बन र निष्कासनको निर्णयले पार्टीलाई कमजोर बनाउने मात्र होइन, कार्यकर्ताको मनोबल खस्काउने र संगठनमा अपूरणीय क्षति पुर्याउने भन्दै कारबाही पुनरावलोकन गरेर फिर्ता लिन जोडदार माग गरिएको छ।
यसअघि निर्वाचन क्षेत्रका उम्मेदवारबाट कारबाहीको सिफारिस भए पनि त्यही क्षेत्रभित्रका जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका र विभिन्न गाउँपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले सो सिफारिसको असहमति जनाउँदै कारबाही खारेज गर्न माग गरेका थिए।
पत्रमा सभापति देउवालाई पार्टीलाई सुदृढ, एकतामूलक र विभाजनरहित बनाउन सहयोग पुर्याउन पनि अनुरोध गरिएको छ। पार्टी अधिवेशनको संघारमा कारबाही गरिनु अनुचित भएको भन्दै त्यसले पार्टीभित्र असन्तुष्टि र निराशा फैलाएको जनाइएको छ।
देशभर क्रियाशील सदस्यता नविकरणको प्रक्रिया चलिरहेका बेला धेरै कार्यकर्ताले “केका लागि नविकरण गर्ने?” भन्ने प्रश्न उठाइरहेका छन् भने अन्य दलहरूले नयाँ सदस्यता विस्तारलाई गति दिइरहेका बेला कारबाहीको निर्णय थप नकरात्मक असर पार्ने बताइएको छ।
संयुक्त बैठकमा ९२ जना प्रतिनिधिको उपस्थिति रहेको र सर्वसम्मत रूपमा कारबाही फिर्ताको माग गर्ने निर्णय भएको क्षेत्रीय सभापति लामिछानेले जानकारी दिएका छन्।





