सिटीवान टेलिभिजनद्वारा गण्डकीमा चौथो प्रदेशस्तरीय तीज गीत प्रतियोगिता भदौ ४ र ५ गते हुने

Share:

पोखरा। सिटीवान टेलिभिजनले आयोजना गर्ने चौथो संस्करणको प्रदेशस्तरीय तीज गीत प्रतियोगिता आगामी भदौ ४ र ५ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न हुने भएको छ।

कार्यक्रमको संयोजक तथा सिटीवान टेलिभिजनकी उपाध्यक्ष चिनु गुरुङले गण्डकी प्रदेशका करिब १०० टोलीको सहभागिता रहने जानकारी दिइन्। यस वर्षको प्रतियोगितामा विद्यालयस्तरका विद्यार्थीसमेत सहभागी गराउने लक्ष्य रहेको छ, जसको उद्देश्य युवा पुस्तालाई तीज संस्कृतिबारे जानकारी दिनु रहेको संयोजक गुरुङले बताइन्।

उनले भनिन्, “आजका पुस्ताले तीजको वास्तविक संस्कृति र परम्पराबारे थाहा पाएका छैनन्, त्यसैले यो प्रतियोगितामार्फत तीज संस्कृतिको ज्ञान प्रदान गर्नु र संरक्षण गर्नु मुख्य उद्देश्य हो।”

कार्यक्रममा सहभागी सबै टोलीलाई निःशुल्क दर्ता सुविधा उपलब्ध गराइनेछ। जिल्लाबाहिरबाट आउने टोलीलाई यातायात खर्चसमेत उपलब्ध गराइने सिटीवान टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै उत्कृष्ट शब्द, नृत्य र भेषभूषाका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी टोलीहरूले तीजको सांस्कृतिक महत्व, महिला हिंसा, कला, पर्यटन प्रवर्द्धन, सामाजिक सरोकार, सरसफाइ, वैदेशिक रोजगारी, कृषि तथा उद्यमशीलता, वन तथा वातावरण, लागूपदार्थ समस्या, विद्यार्थी जीवन र तीजजस्ता सामाजिक विषयवस्तुमा आधारित प्रस्तुति दिनुपर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा झन्डै १५ हजार दर्शकको प्रत्यक्ष सहभागिता रहने र करिब ३० लाख दर्शकले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत हेर्ने अपेक्षा गरिएको सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले बताए। यस वर्ष प्रतियोगिता स्थलमा १५ वटा व्यवसायिक र सामाजिक संस्थाका जानकारीमूलक स्टलहरू राखिनेछन् भने महिलामुखी विशेष हेल्थ क्याम्पसमेत सञ्चालन गरिनेछ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण सिटीवान टेलिभिजन तथा टेलिभिजनका सबै डिजिटल प्लेटफर्महरूबाट एकैसाथ हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले पोखरा नयाँबजारस्थित सिटीवान टेलिभिजनको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्, साथै फोन नम्बर ०६१–५८०४०८, ९८५६०३८०९४ वा ९८५६०१८०९५ मार्फत टोली दर्ता गर्न सकिने टेलिभिजनले जनाएको छ।

सिटीवान टेलिभिजन स्टार नेपाल मिडिया हब प्रा. लि. द्वारा सञ्चालित गण्डकी प्रदेशको पोखराबाट प्रसारण हुने सञ्चार संस्था हो। संस्कृति संरक्षण र सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै विभिन्न सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस टेलिभिजनले यसपटक पनि सोही उद्देश्यसहित तीज गीत प्रतियोगिता आयोजना गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: