
पोखरा । लामा अमृत फाउण्डेशनले कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, किम्चेस्थित श्री जनप्रिय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले शुक्रबार आयोजित एक कार्यक्रममार्फत विद्यालयका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयलाई डस्टबिन र एक थान भलिबल प्रदान गरेका हुन्।
शैक्षिक सामग्री हस्तान्तरणपछि बोल्दै संस्थापक गुरुङले सामाजिक सेवामा सक्रिय रहने उद्देश्यसहित विद्यालयहरूमा शैक्षिक सहयोग गर्दै आएको जानकारी दिए। “सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील फाउण्डेशनले घान्द्रुकसहित विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग गरिसकेको छ,” गुरुङले भने, “केही दिनअघि पोखरामा सम्पन्न क्लबस्तरीय भलिबल प्रतियोगितापछि आज यो विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने अवसर पाएको छु। सहयोगका लागि साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु।”
उनले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र नभई स्थानीय समुदायको चासो पनि आवश्यक रहेको उल्लेख गरे। “शिक्षा जीवनको महत्वपूर्ण आधार हो। गाउँमै गुणस्तरीय शिक्षा दिन शिक्षक मात्र होइन, स्थानीयवासीले पनि जिम्मेवारी लिनुपर्छ,” उनले भने, “गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवाहका लागि फाउण्डेशनमार्फत सक्रियता बढाइरहेको छु। अबको परिवर्तन शिक्षाबाट मात्र सम्भव छ, त्यसैले सबैले शिक्षामा विशेष ध्यान दिन आवश्यक छ।”
विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले फाउण्डेशनको सहयोगले विद्यार्थीको पढाइमा हौसला थपिने विश्वास व्यक्त गरे। “हाम्रो विद्यालय पालिकास्तरमै आधारभूत तहमा उत्कृष्ट नतिजा दिइरहेको छ,” प्रधानाध्यापक दाहालले भने, “स्रोत साधनको अभाव भए पनि पालिकाबाट छात्रवृत्तिलगायत विभिन्न शीर्षकमा सहयोग मिलिरहेको छ। लामा अमृत फाउण्डेशनको यस सहयोगले विद्यार्थीहरूलाई अझै प्रेरित बनाउनेछ।”
फाउण्डेशनले यसअघि पनि लमजुङ र घान्द्रुकका विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको छ। फाउण्डेशन शैक्षिक, सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।


