
पोखरा। माछापुच्छ्रे गाउँपालिका-७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शिलान्यास गरिएको छ। नेपाल सरकार र एसियाली विकास बैंक (ADB) को सहकार्यमा निर्माण हुन लागेको सो सडकको शिलान्यास गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शुक्रबार गरेका हुन्।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन हुँदै गरेको यस सडकको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको हो। निर्माणको सम्झौता २०७८ साल फागुन २१ गते भएको थियो।
सडक निर्माणको जिम्मा एमएस इकेके–एमसिएसपीएल–बिबीआर जेभीले पाएको हो, जसले कुल ३ करोड १८ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्नेछ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री केसीले निर्माण व्यवसायीलाई कामको गुणस्तरमा कुनै सम्झौता नगर्न चेतावनी दिए। “सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यस परियोजनाले स्थानीय अर्थतन्त्र, रोजगारी र सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्नेछ,” मन्त्री केसीले भने।
उनले थपे, “समयमै गुणस्तरीय रूपमा कार्य सम्पन्न गर्न, कामलाई निरन्तर अगाडि बढाउन, र नियमित अनुगमनमार्फत आयोजना सफल बनाउन हाम्रो कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहबीच समन्वय आवश्यक छ।”
परियोजनाले माछापुच्छ्रे गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गर्नुका साथै सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा बहुआयामिक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सडकको कुल लम्बाइ १३.३ किलोमिटर हुनेछ। पहिलो ७ किलोमिटर खण्डमा अस्फाल्ट पिच गरिनेछ भने बाँकी खण्डमा डिबिएसटी प्रविधिबाट पिच गरिने जानकारी ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले दिए।
निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले आजैदेखि निर्माण कार्य प्रारम्भ गरिने र निर्धारित समयमा सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरे। साथै, उनले सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।
शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेलगायत स्थानीय जनप्रतिनिधि तथा अगुवाहरूको उपस्थिति थियो।
