
धनगढीमा बुधबार रातिदेखि लगातार विद्युत् अवरुद्ध हुँदा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ। गर्मीको मौसममा लामो समयसम्म बत्ती नआउँदा बालबालिका, विद्यार्थी र वृद्धवृद्धालाई बढी असर परेको छ।
बिहीबार राति ८ बजेदेखि गएको बत्ती शुक्रबार बिहानसम्म नआएको स्थानीयको गुनासो छ। उज्यालो भएलगत्तै विभिन्न टोलका केही स्थानीय धनगढी विद्युत् वितरण केन्द्रमा गएका थिए। तर कार्यालयमा कुनै कर्मचारी नदेखिएको र फोनसमेत नउठेको उनीहरूको भनाइ छ।
धनगढी-३ का स्थानीय भानदेव भट्टले भने, “अहिले हामी कार्यालयमै छौं, तर यहाँ एक जना पनि कर्मचारी देखिएको छैन। फोनसमेत लगातार व्यस्त छ। हामी समस्याबारे कसैलाई जानकारी दिन सकिरहेका छैनौं।”
विद्युत् अभावका कारण विशेषगरी परीक्षामा बसेका विद्यार्थीहरू हैरान भएका छन्। रातभर पढ्न नसक्दा उनीहरूको तयारीमा असर परेको अभिभावकहरू बताउँछन्।
स्थानीयहरूका अनुसार विद्युत् अवरुद्ध हुनुको कारणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।
