गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

Share:

पोखरा । नेपाली कांग्रेसका अग्रज नेता, गण्डकी प्रदेशका पूर्व प्रमुख तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको निधन भरतपुर महानगरपालिका-२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षको उमेरमा भएको पारिवारिक स्रोतले जनाएको छ।

२००६ सालमा कास्कीको ल्वाङघलेलमा जन्मिएका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले वि.सं. २०२९ मा नेपाली कांग्रेसमा औपचारिक रूपले आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब तीन वर्ष जेल जीवन बिताएका थिए।

गुरुङ नेपाली राजनीतिमा निष्ठा, त्याग र सादगीका पर्याय मानिन्थे। पद र शक्तिको लोभ नगरी जीवनभर लोकतन्त्र र पार्टी संगठनप्रति समर्पित रहनु उनको विशिष्ट पहिचान रह्यो। उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिवको रूपमा तथा दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाले। त्यसपछि पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए।

राजनीतिक जीवनको उत्तरार्धमा उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुख जस्तो संवैधानिक पदको गरिमामय जिम्मेवारी सम्हाले। प्रदेश प्रमुखका रूपमा उनले निष्पक्षता र सन्तुलनको छवि कायम राखे।

प्रदेश प्रमुखको जिम्मेवारीबाट मुक्त भएपछि उनलाई क्यान्सर रोगको निदान भएको थियो। त्यसपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार हुन सकेन। पछिल्लो समय उनलाई चितवनस्थित निवासमै विश्रामका लागि राखिएको थियो।

स्वर्गीय गुरुङको अन्त्येष्टि आइतबार बिहान चितवनको देवघाटमा गरिने परिवारजनले जनाएका छन्।

उनको निधनले नेपाली कांग्रेसले एक अभिभावक एवं निष्ठावान नेता गुमाएको छ भने देशले लोकतान्त्रिक आन्दोलनको एक इमानदार सिपाही गुमाएको छ। उनका त्याग, निष्ठा र स्वच्छ छवि भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: