
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार’ यो वर्ष कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) लाई प्रदान गरिने भएको छ।
पोखराका व्यवसायी बिमलमान गुभाजू र उनको परिवारद्वारा स्वर्गीय बुबा-आमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारको लागि छनोट समितिको सिफारिसलाई फोनिज गण्डकीको हालै सम्पन्न बैठकले अनुमोदन गरेको हो। जानकारी फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङले दिइन्।
छनोट समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापामगर र सदस्यहरूमा संघीय सल्लाहकार शान्ति गुरुब, इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर रहेका थिए।
यो पुरस्कार फोनिजको २६औँ स्थापना दिवसका अवसरमा साउन २७ गते प्रदान गरिनेछ। पुरस्कारको राशि जनही रु २५,००० र सम्मानपत्र रहेको छ।
पुरस्कारप्राप्त पत्रकारहरू
फोटो पत्रकार राम गुरुङ गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पोखरासिटी डटकममा कार्यरत छन्। उनले यसअघि रोयटर्स, सिन्हुवा जस्ता अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूमा समेत काम गरिसकेका छन्। हाल उनी नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष पनि हुन्।
अर्का सम्मानित पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) ले गोरखालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन्। उनले पत्रकारिता यात्रा दरौदी पाक्षिक पत्रिकाबाट सुरु गरेका थिए। त्यसपछि गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम (काठमाडौं), रेडियो पालुङ, रेडियो मुक्तिनाथ, रेडियो गोरखा, एभिन्यूज टेलिभिजन लगायतका मिडियामा काम गरिसकेका छन्। हाल उनी गोरखा समाचार डटकममा आवद्ध छन्।
विगतका पुरस्कारप्राप्त
वि.सं. २०७७ मा स्थापना गरिएको यो पुरस्कारबाट यसअघि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुब, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुब, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन्।
तीन दिवसीय स्थापना दिवस कार्यक्रम
फोनिज गण्डकीले यस वर्षको स्थापना दिवस तीन दिवसीय कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ। साउन २५ गते: ‘फोनिज संवाद’ कार्यक्रम, साउन २६ गते: पत्रकारहरूबीच मैत्रीपूर्ण खेलकुद साउन २७ गते: मूल समारोह अध्यक्ष खिमा गुरुङका अनुसार यस कार्यक्रममार्फत पत्रकारहरूबीच सहकार्य, आपसी सञ्जाल र सम्मान प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
