भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Share:

पोखरा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत यो निर्णय अगस्ट १ देखि लागू हुने बताएका हुन्।

भारत र अमेरिकाबीच छुट्टै व्यापार सम्झौताका लागि वार्ता चलिरहेको बेला, वार्ताको अन्तिम मिति आउन दुई दिनअघि नै ट्रम्पले उक्त घोषणा गरेका हुन्।

उनले भारत र अमेरिका मित्र राष्ट्र भए पनि पछिल्लो केही वर्षमा आपसी व्यापार कमजोर भएको जिकिर गरे। साथै, भारतले लगाउँदै आएको उच्च आयात शुल्क विश्वमै सबैभन्दा कडा रहेको उनले दाबी गरे।

रुससँग भारतको सम्बन्धप्रति ट्रम्पको टिप्पणी

ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्,“भारतमा अरू कुनै देशको तुलनामा सबैभन्दा कडा र अन्यायपूर्ण व्यापार प्रतिबन्धहरू छन्। त्यसभन्दा पनि ठूलो कुरा, भारतले धेरैजसो सैन्य उपकरणहरू रुसबाट किन्ने गर्छ। अहिले सबैले रुसले युक्रेनमा गरिरहेको हत्या रोक्न चाहन्छन्, तर भारत भने चीनसँगै रुसबाट ऊर्जा खरिद गर्ने प्रमुख देश हो।”

उनले अगाडि लेखे, “यी सबै कुरा राम्रो होइनन्। भारतले अब जरिवानासहित २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ।”

‘पारस्परिक ट्यारिफ’ को अवधारणा

ट्रम्पले यसअघि पनि भारतले उच्च करको सामना गर्नुपर्ने सम्भावना औंल्याएका थिए। उनका अनुसार, अमेरिकासँग छुट्टै व्यापार सम्झौता नगर्ने देशहरूले १५ देखि २० प्रतिशतसम्मको ट्यारिफ सहनुपर्नेछ।

उनले आफ्नो कदमलाई ‘पारस्परिक ट्यारिफ’ को नीति भन्दै व्याख्या गरेका छन्। यसको अर्थ, यदि कुनै देशले अमेरिकी सामानमा उच्च आयात शुल्क लगाउँछ भने अमेरिका पनि त्यही देशका सामानमा त्यत्तिकै वा बढी शुल्क लगाउनेछ।

ट्यारिफ के हो ?

ट्यारिफ (भन्सार शुल्क) भन्नाले अन्य देशबाट आयात गरिएका वस्तुहरूमा सरकारले लगाउने कर हो। यस्तो कर प्रायः घरेलु उद्योगको संरक्षण गर्न प्रयोग गरिन्छ। विदेशी सामान आयात गर्ने कम्पनीहरूले यो कर अमेरिकी सरकारलाई तिर्नुपर्छ, तर अन्ततः यसको असर उपभोक्तामै पर्न सक्छ, किनभने सामानको मूल्य महँगो हुन्छ।

कमेन्ट गर्नुहोस्
Share: