कास्कीको माछापुच्छ्रे-३ घाचोकमा पहिरोमा परी एक युवकको ज्यान गयो, शिक्षक घाइते

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-३, घाचोकमा आज बिहान गएको पहिरोले एक जनाको ज्यान लिएको छ भने एक शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा महानगरपालिका-२५ का २३ वर्षीय तेजबहादुर गुरुङको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी हरीबहादुर बस्नेतले घाचोकको लस्तीखोला नजिक हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खसेको जानकारी दिए।स्थानीय बंगुर फार्मका लागि दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। प्रहरीका अनुसार पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला पारिएको हो।

उक्त घटनामा घाचोकस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।

उनी पोखराबाट मोटरसाइकलमा विद्यालयतर्फ जाँदै गर्दा पहिरोमा परेका थिए। स्थानीयवासीले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याएका छन्, जहाँ अहिले उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: