
पोखरा। नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिका कास्कीको संयुक्त आयोजनामा भोलि माछापुच्छ्रे-४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव हुने भएको छ।
नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो। “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित महोत्सव गरिन लागेको महासंघ गण्डकी अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए।
कार्यक्रममा चर्चित जनगायक जीवन शर्मा र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, पञ्चेबाजा, र आमा समूहहरूबीच कोदो रोपाइँ प्रतियोगिता हुनेछ।
गुरुङले स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कोदो खेतीप्रति कृषकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताए। “कोदो जोगाएर मात्रै होइन, उत्पादन बढाएर खाद्य सुरक्षामा योगदान दिनुपर्छ,” उनले भने।
पहाडी क्षेत्रमा मकै भाँचिसकेपछि साउनको पहिलो सातादेखि कोदो रोपाइँ गर्ने परम्परा रहे पनि हाल धेरै बारी बाँझिएका छन्। माग उच्च भए पनि उत्पादन घट्दो अवस्थामा रहेको कोदोबाट रोटी, ढिँडो, पुवा र घरेलु मदिरा बनाइन्छ।
महोत्सवमार्फत बहुउपयोगी अन्न कोदोको महत्वबारे चेतना फैलाउने र खेतीतर्फ आकर्षण बढाउने उद्देश्य राखिएको आयोजकले जनाएका छन्।
