
काठमाडौं । इङ्गल्याण्ड र वेल्समा हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ को छनोट खेल नेपालमा हुने भएको छ । अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुने विश्वकप छनोटका खेल नेपालमा हुने आईसीसीले बिहीबार घोषणा गरेको हो ।
नेपालमा दश टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् । सन् २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्याण्ड विश्वकपका लागि छनोट भइसकेका छन् ।
थाइल्याण्ड र नेपाल एसिया क्षेत्रबाट छनोट भएका हुन् भने अमेरिकाले पनि यस प्रतियोगिताका लागि स्थान बनाइसकेको छ । बाँकी पाँच टोली अफ्रिका र युरोपबाट दुई-दुई टोली र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट पूरा गरेर आउनेछन् ।
नेपालमा हुने छनोट खेलमा १० टोलीलाई पाँच-पाँच टोलीको दुई समूहमा विभाजन गरिनेछ, त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतियोगिताको पूर्ण खेल तालिका आगामी दिनमा घोषणा गरिने आईसीसीले जनाएको छ ।
इङ्गल्याण्ड र वेल्समा हुने विश्वकपका ३३ खेलहरू ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डसहित सात स्थानहरूमा खेलाइनेछ । फाइनल लर्ड्स क्रिकेट ग्राउन्डमा आयोजना हुनेछ ।
