
पोखरा। प्रथम राष्ट्रिय कोदो दिवस-२०८२ देशव्यापी रूपमा मनाइँदै गर्दा पोखरामा पनि विविध कार्यक्रमसहित यो दिवस मनाइएको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा कोदोजन्य परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादनमा सक्रिय कृषकहरूलाई सम्मान गरिएको हो।
“कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित सम्पन्न कार्यक्रममा लामो समयदेखि कोदो खेतीमा समर्पित र उच्च उत्पादन गर्ने चार जना कृषकलाई विशेष सम्मान प्रदान गरिएको थियो।
८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-१६ की बबिता गुरुङ, ८ रोपनी क्षेत्रफलमै खेती गर्ने पोखरा-२८ की अम्बिका भण्डारी, १० रोपनीमा खेती गर्ने पोखरा-२३ का सचेन गुरुङ र १२ रोपनीमा कोदो उत्पादन गर्दै आएका पोखरा-२१ का कर्ण बहादुर थापा नगदसहित सम्मानित भएका हुन्। सम्मान नगर प्रमुख धनराज आचार्यद्वारा प्रदान गरिएको हो।
नगर प्रमुख आचार्यले रैथाने बालीहरू संरक्षणको आवश्यकता औंल्याउँदै कोदो जस्ता पोसिला बालीहरूको उत्पादनमा जोड दिनुपर्ने बताए। उनले भने, “स्वास्थ्यका लागि अति उपयोगी कोदो जस्ता बाली लोपोन्मुख अवस्थामा छन्, यी बालीहरूको उत्पादन बढाएर महानगरलाई आत्मनिर्भर बनाउनु आवश्यक छ।”
आचार्यका अनुसार पोखरा महानगरपालिका हाल दुध, दही, अण्डा तथा केही तरकारी उत्पादनमा आत्मनिर्भर भइसकेको छ। अब कोदोजस्ता बालीमा पनि आत्मनिर्भरताको लक्ष्य राखिएको छ।
कोदो दिवसको उद्देश्यबारे जानकारी दिँदै आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले परम्परागत बालीको संरक्षण, कृषक आम्दानी वृद्धि, स्थानीय खाद्य प्रणाली सुदृढीकरण तथा खाद्य सुरक्षामा योगदान पुर्याउने लक्ष्य रहेको बताए। उनका अनुसार कोदो प्रवर्द्धन र कृषकको आकर्षण बढाउन महानगरपालिकाले न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्दै आएको छ।
