माछापुच्छ्रे गाउँपालिकामा पहिलो कोदो रोपाइँ महोत्सव सम्पन्न

Share:

पोखरा । राष्ट्रिय कोदो दिवसको अवसरमा नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश–कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका-४, लाहाचोकमा पहिलो कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ।

महोत्सवमा जनगायक जीवन शर्माको विशेष प्रस्तुति, पञ्चेबाजा, स्थानीय भजन लगायत सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कोदो रोपाइँ प्रतियोगितामा सहभागी १६ वटा आमा समूहलाई आयोजकले प्रति समूह ३ हजार ५०० रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरेको थियो।

कोदोको बहुआयामिक महत्वमा जोड

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले “बहुपोषणयुक्त कोदोको महत्व बुझिन नसक्दा यो अन्न पछाडि परेको छ,” भन्दै यसको उपयोगितामा पुनः विचार गर्नुपर्ने धारणा राखे। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर हुँदै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले कोदोको महत्त्व बुझाउन नसकिँदा यसको आकर्षण कम भएको उल्लेख गरे। गण्डकी प्रदेश उद्योग संघका अध्यक्ष बोबरजंग गुरुङले औषधीय गुण भएको कोदो खेतीलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बन्नु आवश्यक रहेको बताए।

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले “स्थानीय उत्पादनमा जोड दिन सके खाद्यान्न आत्मनिर्भरता सम्भव छ,” भन्ने धारणा राखिन्।

कार्यक्रमको अध्यक्षता नेपाल उद्योग तथा व्यवसायी संघ कास्की अध्यक्ष कृष्ण तिवारीले गरे भने सञ्चालन महासंघका सचिव धर्ममान सिंह भण्डारीले गरे। कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

महोत्सवको प्रवर्द्धनमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि विकास निर्देशनालय, नेपाल टेलिकम, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकाको सहकार्य रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: