बुद्धिबहादुर कुँवरको अध्यक्षतामा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको नयाँ कार्यसमिति चयन

Share:

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराको अध्यक्षमा बुद्धि बहादुर कुँवर निर्वाचित भएका छन् । एसोसिएसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले कुँवरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सन्जय श्रेष्ठ, प्रकाश पौडेल र दिनेश गुरुङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष कुँवरले व्यवसायीहरूको हकहित संरक्षण गर्दै संस्थाको छविलाई अझ उचाइमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकार व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।

“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने, “प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार हुन सकेको छैन ।”

मन्त्री थापाले प्रदेश सरकारले उद्यमशील युवाहरूलाई स्वदेशमै लगानी गर्न प्रेरित गर्न विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए । “हामीले सीप विकास तालिम केन्द्रमार्फत १९ किसिमका तालिम सञ्चालन गरेका छौं । तालिमपछि उद्यम गर्न चाहनेलाई ब्युपुँजी तथा बैंक ऋणमा ५० प्रतिशत अनुदानको व्यवस्था छ,” उनले भने ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले संघ सधैं व्यवसायीको सुझावअनुसार अगाडि बढ्ने बताए । पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीका समस्या समाधानमा प्रतिबद्ध रहेको धारणा राखे ।

त्यसैगरी, संस्थाका मानार्थ सदस्य तथा सल्लाहकारहरू केशवबहादुर खत्री, सुदीप ढकाल, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा, सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

एसोसिएसनका निवर्तमान अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट सदस्य तथा पुराना व्यवसायीहरूलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: