लिचीबारी प्रकरण र घुस डिलमा मुछिएका सुजन लामा एमालेबाट निलम्बित

Share:

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पोखराको चर्चित बाटुलेचौर लिचीबारी प्रकरण र घुस लेनदेनमा मुछिएको आरोप लागेका सुजन लामालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ। लामासँगै सोही प्रकरणमा जोडिएका निजामती कर्मचारी के. गिरीलाई पनि पार्टीले निलम्बन गरेको छ। तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका उनीहरूलाई पार्टीले छानबिनपछि कारबाही गरेको हो।

लामामाथि पोखरास्थित १३५ रोपनी क्षेत्रफलको सरकारी लिची बगैँचा हडप्न तत्कालीन मन्त्री गुप्तासँग आर्थिक लेनदेनको सेटिङ मिलाएको गम्भीर आरोप लागेको थियो। यही अडिओ प्रकरणका कारण मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए।

लिचीबारी प्रकरणका अतिरिक्त लामामाथि अन्य गम्भीर आरोपहरू पनि छन्। उनले कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न मन्त्री गुप्तासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गराउन २५ लाख रुपैयाँ लेनदेनको प्रस्ताव गरेको आरोप छ। पार्टीले निलम्बनको निर्णय गर्नुअघि लामासँग स्पष्टीकरण सोधिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: