जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा पाँच शिक्षासेवी र चार विद्यार्थी सम्मानित

Share:

पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठानले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका पाँच व्यक्तित्वलाई सम्मान गरेको छ। शनिबार पोखरामा आयोजित एक विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई सम्मान गरे ।

यस वर्ष सम्मानित हुनेहरूमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, पृथ्वीनारायण क्याम्पसका प्राडा. लेखनाथ भट्टराई र प्राडा. यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य तथा स्वास्थ्यकर्मी शकुन सिंह रहेका छन् । उनीहरूलाई मुख्यमन्त्री पाण्डेले सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा अनवरत सेवा गर्ने व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत भएको बताए । उनले यस्ता सम्मानले नयाँ पुस्तालाई समेत सामाजिक सेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका संस्थापक डा. जोर्ज जोनले शिक्षाको विकास नै देशको समग्र विकासको मूल आधार भएकोमा जोड दिए ।

समारोहमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा सर्वोत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरूमा विज्ञान संकायकी कृति भट्टराई, व्यवस्थापनका विजय सुवेदी, मानविकीका विवेक तिवारी र शिक्षाशास्त्र संकायका अमृत पौडेल रहेका छन्।

प्राडा जोर्ज जोन र डा. एलियामा जोनद्वारा स्थापित यस प्रतिष्ठानले विगत तीन दशकदेखि पोखराको शैक्षिक विकासमा सक्रिय भूमिका खेल्दै आएको छ। प्रतिष्ठानले शिक्षामा योगदान दिनेहरूको सम्मान, क्षमता विकास, तथा जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: