
पोखरा । पोखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित भगवान् शिवको प्रतिमासहितको कलात्मक जलाशय उद्घाटन गरिएको छ। केदारेश्वर महादेव मणि मन्दिरका पीठाधीश चिद्घन चैतन्यजी महाराजले सोमबार एक समारोहबीच उक्त जलाशयको उद्घाटन गरेका हुन् ।
विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय, कास्कीको सहयोगमा करिब ५ लाख ९२ हजार रुपैयाँको लागतमा उक्त जलाशय निर्माण गरिएको हो। जलाशयमा भगवान् शंकरको जटाबाट जलधारा बग्ने आकर्षक संरचना बनाइएको छ।
“सच्चा धर्म आत्मसन्तुष्टि हो”
सो अवसरमा बोल्दै पीठाधीश चैतन्यजी महाराजले बाहिरी आडम्बरभन्दा आत्मसन्तुष्टि र स्थिर मनबाट गरिने साधना नै सच्चा धर्म भएको बताए। उनले भने, “मनमा अशान्ति र अस्थिरता राखेर गरिने लाखौँको दान पनि निरर्थक हुन्छ। धर्मले व्यक्तिलाई कर्तव्यनिष्ठ बनाउँछ र समाजलाई एकतामा बाँध्छ।”
उनले अभिभावकहरूलाई आफ्ना सन्ततिलाई धर्म र संस्कृतिको महत्व सिकाउन तथा युवाहरूलाई विदेश पलायन हुनुको सट्टा स्वदेशमै सेवा गर्न प्रेरित गरे। कार्यक्रममा पत्रकारिताको माध्यमबाट धर्म, संस्कृति र शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष एवं गोरखापत्र दैनिकका ब्युरो प्रमुख रमेश पौडेललाई सम्मान गरिएको थियो।
विद्यालयमा बढ्दो आकर्षण
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा.डा. जगन्नाथ रेग्मी लगायतले संस्कृत शिक्षा र यसको महत्वबारे बोलेका थिए ।
अध्यक्ष अधिकारीका अनुसार, विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म २६० जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ७० जनालाई निःशुल्क आवासीय सुविधा प्रदान गरिएको छ।
यसका लागि स्थापित अक्षयकोषमा हालसम्म ६५ लाख रुपैयाँ संकलन भएको छ। प्रधानाध्यापक सिग्देलले संस्कृत विषयका साथै अंग्रेजी, विज्ञान र गणित जस्ता आधुनिक विषयको पनि पढाइ हुने भएकाले विद्यार्थीको आकर्षण बढेको जानकारी दिए ।
