
पोखरा । साउन महिनाको तेस्रो सोमबार पोखराका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी पोखरा-१७, सीतापाईलास्थित ऐतिहासिक सदाशिव सिद्धेश्वर हरिहर मन्दिरमा जल चढाउने र पूजाआजा गर्नेहरूको भीड लागेको हो।
सेती नदीको सीताघाटमा स्नान गरी ल्याइएको पवित्र जल मन्दिर परिसरमा निर्मित १०८ शिवलिङ्गमा चढाउँदा मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरू लामबद्ध भएका थिए। सेती नदी र मन्दिरको दूरी करिब १०० मिटर मात्रै भएकाले पनि यहाँ भक्तजनलाई सहज भएको छ।
१०८ शिवलिङ्ग र धाराले बढाएको आकर्षण
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार, करिब २२ लाख रुपैयाँको लागतमा निर्मित १०८ शिवलिङ्ग र १०८ गौमुखी धाराले मन्दिरको आकर्षण बढाएको छ।
“यी संरचनाले यस क्षेत्रको धार्मिक महत्त्व बढाएको छ र साउन महिनामा भक्तजनको उपस्थिति उल्लेख्य रूपमा बढेको छ,” उनले भने। मन्दिरले यस साउन महिनामा मात्रै भक्तजनले काटेको रसिदबाट ६८ हजार रुपैयाँ आम्दानी गरेको छ, जबकी दानपेटिका र भेटीको रकम गणना गर्न बाँकी नै छ। साउनको अन्तिम सोमबार मन्दिरमा महाआरती र लाखेनाच प्रदर्शन गर्ने तयारी भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए।
ऐतिहासिक किंवदन्ती र गुठी
यो मन्दिर ऐतिहासिक र पुरातात्विक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। स्थानीय किंवदन्तीअनुसार, तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहले सेती नदीको सीताघाटमा स्नान गर्दा हरिहर (विष्णु र शिवको एकीकृत रूप) को दर्शन पाएका थिए। पछि, त्यही क्षेत्रमा एउटा काप्ली गाईले दूध चढाएको शिला फेला परेपछि मन्दिर निर्माण गरी नित्य पूजाआजा सुरु गरिएको थियो।
मन्दिरको नित्य पूजा सञ्चालनका लागि विसं १८६४ को लालमोहरले पोखरा-१७, पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरेको ऐतिहासिक प्रमाण रहेको अध्यक्ष भण्डारी बताउँछन्।
यसैबीच, विश्व जडीबुटी दिवस तथा आचार्य बालकृष्णको जन्मदिनको अवसरमा पतञ्जली योग युवा समिति, कास्कीले मन्दिर परिसरमा वृक्षारोपण गरेको छ। समितिले राजवृक्ष, गुलमोहर, चाँप, धुपी, पैयुँ लगायतका १५ वटा बिरुवा रोपेको हो। कार्यक्रममा पतञ्जली योग समितिका पदाधिकारी, मन्दिर व्यवस्थापन समिति र भक्तजनहरूको सहभागिता रहेको थियो।
