
पोखरा । पोखरा इम्ब्रोइडरी तथा गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले इन्डोनेसियाको बाली र भियतनामको हनोईमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ। एसोसिएसनले साउन ९ देखि १९ गतेसम्म चलेको भ्रमणमार्फत ती देशका व्यवसायी तथा सर्वसाधारणलाई पोखरा भ्रमणको निम्तो दिएको हो।
एसोसिएसनका अध्यक्ष गोकर्ण लम्सालका अनुसार यो भ्रमण एसोसिएसनको वार्षिक अन्तर्राष्ट्रिय कार्यक्रमको हिस्सा हो। “बालीको कला र संस्कृति संरक्षणबाट त्यहाँको पर्यटनले ठूलो लाभ लिएको पायौं। हामीले पनि आफ्नो मौलिक कला-संस्कृतिलाई जोगाउन सके पर्यटकीय रूपमा फाइदा लिन सकिन्छ भन्ने महत्वपूर्ण सिकाइ भयो,” लम्सालले भने।
भ्रमणका क्रममा टोलीले हनोईको ग्रामीण क्षेत्रमा रहेका रेशमी कपडा उद्योगहरूको पनि अवलोकन गरेको थियो। भ्रमण टोलीले दुवै देशका पर्यटन व्यवसायी र स्थानीयलाई पोखरा तथा समग्र नेपाल भ्रमणका लागि आग्रह गरेको एसोसिएसनका पूर्वअध्यक्ष विश्वराज पोखरेलले बताए। उनले नै भ्रमणको अन्तर्राष्ट्रिय यात्रा व्यवस्थापनमा सहजीकरण गरेका थिए।
प्रवर्द्धन टोलीमा अध्यक्ष लम्सालसहित ३५ जना सदस्य सहभागी थिए। टोलीमा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेल, एसोसिएसनका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्वअध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम तथा अन्य कार्यसमिति पदाधिकारीहरूको सहभागिता थियो।
