
पोखरा । अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोले गर्दा बिहीबारदेखि यातायात पूर्ण रूपमा ठप्प भएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा मुक्तिनाथ तथा दामोदर कुण्ड दर्शनका लागि जाने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, रघुगंगा गाउँपालिका-३ बैसरीमा सडक माथिबाट खसेको विस्फोटक पहिरोका कारण करिब ५० मिटर सडक भाग पूर्णरूपमा बन्द भएको छ। त्यसैगरी, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको सूचना अधिकारी सागर पौडेलले जानकारी दिए।
सडक खुलाउने प्रयास भए पनि लगातारको झरीले काम गर्न कठिन बनाएको बेनी–जोमसोम-कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले बताए। साथै, उनी अन्नपूर्ण-३ दानका पर्यटन व्यवसायीसमेत हुन्। उनले भने, “पानी परिरहेको बेला कुनै पनि समय थप पहिरो खस्ने जोखिम हुन्छ। यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र अघि बढ्नु बुद्धिमानी हुनेछ।”
यसबाहेक, बेनी-दरवाङ सडक खण्डको बेनी नगरपालिका-४ धुमाउने भीर र मालिका गाउँपालिका-६ बाँगे पहिरो क्षेत्रमा पनि अत्यधिक जोखिम रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
