
पोखरा । हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान नदिपुरमा हिजो श्रीमद्भागवत महापुराण कथाको शुभ सङ्कल्प अनन्त श्री विभूषित आध्यजगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध बाबा) बाट सम्पन्न भएको छ।
उक्त कथा वाचन अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरिशंकरदास वेदान्ती जी महाराजको श्रीमुखबाट हुनेछ र एक सातासम्म निरन्तर चल्नेछ। कथाको पहिलो दिनको शुभारम्भ समारोहमा पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्यज्यू प्रमुख अतिथिको रूपमा सहभागी भए। उनले पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वारको रूपमा चिनाउँदै यस क्षेत्रको समग्र विकासका लागि हिमालयन सिद्ध महायोगसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा बिहानैदेखि भएको पूजामा पोखरा मात्र नभई नेपालका विभिन्न शाखाबाट आएका महायोगी सिद्ध बाबाका अनुयायीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। त्यस्तै, सोही अवसरमा श्रावणी पूर्णिमा अर्थात जनै पूर्णिमा पनि श्रद्धा र भव्यताको साथ मनाइएको थियो। श्री सदगुरुदेवज्यूका करकमलबाट डोरा बाँध्ने परम्परालाई निभाउँदै सहभागी सबैले दिव्य कृपाको अनुभव गरेका थिए।
हाल हरिबोधिनी एकादशीदेखि हरिशयनी एकादशीसम्मको चतुर्मास व्रत अनुष्ठान पनि केन्द्रमा जारी छ। आत्मकल्याणको अभिलाषा राख्ने सबै श्रद्धालुहरूलाई अनुष्ठानमा सहभागी भई आध्यात्मिक लाभ लिन आयोजक समितिले अनुरोध गरेको छ।
