
पोखरा । पोखरा विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु गरेको छ। विश्वविद्यालयले पहिलोपटक उक्त विषयमा भर्नाका लागि अनलाइन आवेदन खुला गरेको हो।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन सह-प्राध्यापक बुद्धिराज जोशीका अनुसार समयसापेक्ष र नवीन प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै मेकानिकल इञ्जिनियरिङ कार्यक्रम सुरु गरिएको हो।
भर्ना समितिका संयोजक सुरेश बरालले स्वदेशमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले जलविद्युत्, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने बताए।
उप-प्राध्यापक ऋषभ खनालका अनुसार पाठ्यक्रममा अटोमेसन, रोबोटिक्स, इन्डस्ट्री ४.०, र मेसिन लर्निङ जस्ता अत्याधुनिक प्रविधिहरूलाई समेत समावेश गरिएको छ।
वि.सं. २०५४ मा स्थापना भएको पोखरा विश्वविद्यालयले व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान, स्वास्थ्य विज्ञान, र विज्ञान तथा प्रविधि संकायमार्फत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायमा BBA, BHM, MBA; मानविकी तथा सामाजिक विज्ञान संकायमा विकास अध्ययन, अंग्रेजी; स्वास्थ्य विज्ञान संकायमा नर्सिङ, फार्मेसी, जनस्वास्थ्य; तथा विज्ञान तथा प्रविधि संकायमा कम्प्युटर, सिभिल, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
