अव्यवस्थित वसोबासीको पीडा पोखरामा पोखियो, आयोगसँग सिधा संवाद

Share:

पोखरा । भूमि अधिकार मञ्च नेपाल, जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आइतबार पोखरामा भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित वासोबासीहरूको जग्गा प्राप्तिका लागि भूमि आयोग, जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवाला निकायहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले भूमि समस्या समाधानकै उद्देश्यले आयोग गठन गरिएको जानकारी दिँदै, स्थानीय निकायहरूले यथार्थ विवरण आयोगमा उपलब्ध गराएपछि आयोगबाट कुनै काम रोकिने अवस्था नहुने स्पष्ट पारे।

पोखरा-९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा बसोबास गरिरहेका सबैलाई स्थायी बसोबासको व्यवस्था गर्न सकियोस् भन्ने चाहना व्यक्त गर्दै, भूमि समस्या समाधानमा आफु सधैं सकारात्मक रहेको बताए।

भूमि समस्या समाधान आयोग कास्कीका प्रवक्ता आस बहादुर गुरुङले आयोगले प्रभावकारी रूपमा काम गर्नका लागि स्थानीय निकाय र समुदायको सहकार्य अपरिहार्य हुने धारणा राखे।

कार्यक्रममा कार्यपालिकाका सदस्य गोपी तुलाचन, भूमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम बहादुर लामिछाने, नेपाली कांग्रेस पोखरा-९ का सभापति शिवराज बास्तोला, नेकपा (एमाले) पोखरा-९ की अध्यक्ष सरस्वती श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) पोखरा-९ का अध्यक्ष असिम तामाङ, स्थानीय प्रतिनिधि जित बहादुर मोक्तान र गोमा पराजुली तामाङले आयोगले समस्याको दीगो समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रम भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वागत भूमि अधिकार मञ्च पोखरा महानगरका अध्यक्ष कृष्ण परियारले गरेका थिए भने सञ्चालन मञ्च कास्कीकी सचिव कुमारी गुरुङले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: