
पोखरा। अन्नपूर्ण गाउँपालिका-२ ढिकुरपोखरीमा ४४ औं हरितालिका तीज मेला आगामी भदौ ८ गतेदेखि सुरु हुने भएको छ। ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा हरेक वर्ष झैं आयोजना हुने मेलामा यसपटक ‘प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता’ समेत आयोजना गरिने भएको छ।
आईतबार पत्रकार सम्मेलन गर्दै मेला संयोजक तथा युवा सञ्जाल अध्यक्ष विरेन्द्र गुरुबले यस वर्षको मेलाको मुख्य आकर्षण फुटबल प्रतियोगिता रहेको जानकारी दिए। उनका अनुसार प्रतियोगितालाई पहिलोपटक “अध्यक्ष कप” नाम दिइएको हो।
फुटबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा क्लबहरूको सहभागिता रहनेछ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।
विजेता टिमले रु तीन लाख तीन हजार तीन सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख बहत्तर हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, अनुशासित टिमलाई रु पन्ध्र हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार, र सर्वाधिक गोलकर्तालाई रु आठ हजार प्रदान गरिनेछ।
मेलामा महिलाहरूका लागि तीज गीत प्रतियोगिता, रस्साकसी, र पुरुषहरूका लागि ठेलो प्रतियोगिता समेत समावेश गरिएको छ।
संयोजक गुरुबले ढिकुरपोखरीको यो तीज मेला अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा पुरानो र ठूलो सांस्कृतिक उत्सव भएको बताए। उनका अनुसार वि.सं. २०४६ सालदेखि विद्यालयस्तरबाट सुरु भएको मेला पछिल्लो समय युवा क्लबले सञ्चालन गर्दै आएको छ।
“पुर्खा कालदेखि नै तीज मेलामा फुटबल प्रतियोगिता हुँदै आएको इतिहास छ,” गुरुबले भने, “तीज मेला भन्नासाथ ढिकुरपोखरीमा फुटबल हुने बुझिन्छ। हामीले त्यही परम्परालाई निरन्तरता दिँदै ‘अध्यक्ष कप’ सुरु गरेका हौं।”
