पोखरा १७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाच प्रदर्शन

Share:

पोखरा । पोखरा महानगरपालिका-१७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाचको भव्य प्रस्तुति गरिएको छ। रातोपैह्रा लाखे खलःको आयोजनामा भएको कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रस्तुत गरिएका थिए। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल बाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारोमा आयोजित कार्यक्रममा हजारौं दर्शकहरूको उपस्थिति रहेको थियो।

नेवार समुदायद्वारा घण्टाकर्ण चतुर्दशीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म १५ दिन मनाइने लाखे नाचमा ढोलक र भ्याँम्टाको थर्काउने आवाज, डरलाग्दा मुखुण्डो, बाक्लो कपाल, रातो पहिरन र घन्काउने आवाजसहितको प्रस्तुति दर्शकलाई आकर्षित गर्ने गर्छ। पछिल्लो समय बालबालिका, युवा र जेष्ठ नागरिकसमेत यस नाचप्रति आकर्षित हुँदै गएका छन्।

कार्यक्रमका बारेमा जानकारी दिँदै रातोपैह्रा लाखे खलःका संरक्षक ध्रुवकुमार ठुसाजुले भूतप्रेत नलागोस्, र मरेका आत्माले दुःख नदिऊन् भन्ने विश्वासका साथ परम्परा जोगाउन लाखे नाच प्रस्तुत गरिएको बताए। उनका अनुसार आर्थिक पक्ष सहज नभए पनि विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा नाच प्रस्तुत गरिएको हो। लाखे नाचका लागि हालसम्म सात लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको जानकारी पनि उनले दिए।

कार्यक्रमको शुभारम्भ गर्दै वडा नं। १७ की वडाअध्यक्ष राधिका शाही योगीले संस्कृति संरक्षणमा पोखरेली नेवार समुदायको योगदान महत्वपूर्ण रहेको बताए। “बजारसम्म गएर हेर्नुपर्ने लाखे नाच यसपटक रातोपैह्रामै देख्न पाउँदा स्थानीयलाई सजिलो भएको छ,” उनले भनिन्।

पोखरा-८ का पूर्व जनप्रतिनिधि तथा नेवार समुदायका अग्रज कृष्णमान ठुसाजुले लाखे नाचको इतिहास मल्लकालीन युगदेखि काठमाडौं उपत्यकाबाट सुरु भएको र अहिले नेवार समुदाय बसोबास गरेका देशभरका स्थानहरूमा यो परम्परा फैलिएको उल्लेख गरे ।

मल्ल राजाहरुले नगर सुरक्षासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई प्रोत्साहन गरेपछि लाखे नाचको परम्परा स्थापित भएको किम्वदन्ती रहेको उनको भनाइ थियो।

कार्यक्रम सञ्चालन सफल सुवेदीले गरेका थिए । कार्यक्रममा कुमारी नृत्यसहित विभिन्न समुदायका कलाकार तथा मिस नेपाल बनेका प्रतिभाहरूले मनोरञ्जन नृत्य प्रस्तुत गरेका थिए। लाखे नाचमा बालबालिका र युवाको सक्रिय सहभागिताले संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको जानकारहरूको सामूहिक धारणा रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: