
पोखरा । पोखरा महानगरपालिका-१६ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक इन्दु भट्टराईलाई सम्मानपूर्वक बिदाइ गरेको छ।मंगलबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा करिब ३८ वर्षको अध्यापन यात्रा सम्पन्न गरी अनिवार्य अवकाश प्राप्त गरेका दुवै शिक्षकलाई माला, दोसल्ला र सम्मानपत्रसहित बिदाइ गरिएको हो।
कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिक्षकद्वयलाई सम्मान गर्दै भने, “समाजलाई सभ्य र सुसंस्कृत बनाउन शिक्षकमैत्री योगदान महत्वपूर्ण हुन्छ। यो क्षेत्र शिक्षाको उगम थलो हो, अबको जीवन पनि शिक्षा सेवामा समर्पित होस् भन्ने आशा राख्छु।”
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक र भौतिक विकासमा बानियाँ र भट्टराईको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको अनुभव अझै उपयोगी हुने अपेक्षा व्यक्त गरे ।
सहायक प्रधानाध्यापक बानियाँले विद्यालयको सम्मानप्रति आभार प्रकट गर्दै भने, “अवकाश पाए पनि शिक्षा र समाज सेवामा सक्दो सक्रिय रहनेछु।” आफूले उत्कृष्ट विद्यालयमा सहायक प्रधानाध्यापकको रूपमा सेवा गर्न पाएकोमा गर्व लागेको उनको भनाइ थियो।
शिक्षक इन्दु भट्टराईले पनि विद्यालयलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै आधारभूत तहका नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। कोषको ब्याजबाट हरेक वर्ष एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिइएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरू सहित पञ्चेबाजा, फुल र अविरसहित सम्मान कार्यक्रम सम्पन्न भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले तथा सञ्चालन परीक्षा संयोजक महेन्द्रमणि पौडेलले गरेका थिए।
विसं। २०४५ साल पुसमा तनहुँको राधा मावि, जामुने भञ्ज्याङबाट विज्ञान शिक्षकको रूपमा शिक्षण यात्रा सुरु गरेका रामबहादुर बानियाँले २०४६ माघमा शान्ति प्रस्तावित मावि, जुम्लेटीमा गणित तथा विज्ञान शिक्षकका रूपमा सेवा विस्तार गरेका थिए।
उनले २०६२ देखि २०६६ सम्म प्रधानाध्यापकका रूपमा पनि कार्य गर्नुभएको थियो। २०७४ माघमा विन्ध्यवासिनी मावि, बाटुलेचौरमा सरुवा भई हाल अनिवार्य अवकाश लिएका थिए। बानियाँ र भट्टराई दुवै सामाजिक तथा साहित्यिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
