
पोखरा। पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूले उद्यमशीलता विकासका लागि आपसी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार अध्ययन अवलोकन भ्रमणका क्रममा पोखरा आइपुगेको बागलुङ महिला उद्यमी समिति र पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमितिबीच सम्पन्न अन्तरक्रियामा सो सहमति जुटेको हो।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक बन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक तहसम्म महिलाको सहभागिता बढ्दो भए पनि समाजमा महिलालाई सानोतिनो व्यवसायमै सीमित गरिनुपर्ने मानसिकता कायम रहेको बताइन्।
उनले भनिन्, “हस्तकला र घरेलु उद्योग मात्र महिलाको क्षेत्र हो भन्ने धारणा हट्नुपर्छ। महिलाका नाममा उद्योग/व्यवसाय दर्ता गर्दा दिइने छुट र बैंकमार्फत् प्राप्त कर्जाको भरपुर उपयोग गर्नुपर्छ। तर व्यवसायिक प्रक्रियामा देखिने झन्झट कम गर्न अझ धेरै नीतिगत सुधार आवश्यक छ।”
उनको भनाइमा पछिल्लो समय हस्तकला, परम्परागत कृषि उत्पादन तथा रैथाने स्वादका वस्तुको माग बढ्दै गएकोले ग्रामीण क्षेत्रमै पनि नयाँ व्यावसायिक अवसरहरू सिर्जना भइरहेका छन्।
कार्यक्रममा महिला उद्यमी विकास समिति बागलुङकी अध्यक्ष अर्चना कुमारी पालिखेले महिलाहरू स्वयम् सचेत भई व्यवसायिक सफलता हासिल गर्न सक्ने धारणा राखिन्। उनले बागलुङका दुर्गम गाउँहरूमा उत्पादित अर्गानिक वस्तुहरूको बजार विस्तारका लागि पोखराका महिला उद्यमीहरूसँग सहकार्यको प्रस्ताव समेत राखिन्।
उनले भनिन्, “महिलाले गर्न सक्दैनन् भन्ने सोच अझै बाँकी छ, तर हामी महिलाहरूले पनि आफूलाई सशक्त बनाउने अवसर खोज्नुपर्छ। कोष व्यवस्थापनमा महिलाले क्षमता देखाइसकेका छन्, अब अन्य क्षेत्रमा पनि अग्रसर हुनुपर्छ।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलता विकासका लागि आवश्यक तालिम तथा बजारीकरणमा संघले साथ दिने बताए। संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले महिलाहरूले उत्पादन गरेका सामग्रीको माग बढ्दै गएको उल्लेख गर्दै गुणस्तरमा ध्यान दिन आग्रह गरे।
संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य वसन्त उदासले उद्योग वाणिज्य संघहरूको सामाजिक उत्तरदायित्व उल्लेख गर्दै संघहरूबीचको सहकार्यले व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउने बताए।
संघकी महासचिव शोभा गौतमले एकतामा शक्ति हुने उल्लेख गर्दै महिलाबीच उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
बागलुङ उद्योग वाणिज्य संघकी महिला सचिव सिर्जना राजभण्डारी श्रेष्ठले महिला उद्यमशीलता प्रवर्द्धनमा पुरुषहरूको साथ पनि महत्त्वपूर्ण रहेको धारणा राखिन्।
बागलुङ महिला उद्यमी समितिकी सल्लाहकार उषा पौडेलले महिलाको आर्थिक स्रोतमा पहुँच नभएसम्म आत्मनिर्भरताको यात्रा अपूरो हुने बताइन्। महासचिव पिङ्गला जिसीले महिला नेतृत्व विकासका लागि संघहरूले विशेष अभियान थाल्नुपर्नेमा जोड दिइन्।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुरेश घिमिरेले महिलाहरूले पाएका अवसरहरूको अधिकतम उपयोग गर्नुपर्ने बताए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्षहरू दीनेशचन्द्र बास्तोला, बलराम आचार्य, कोषाध्यक्ष मनोज श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्यहरू दूधमान गुरुङ ‘आशिष’, एकनारायण गौतम, जीवनप्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना लगायतको उपस्थिति थियो।
