
पोखरा। कास्कीमा क्रियाशील संस्थागत विद्यालयहरूको छाता संगठनहरूले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानप्रति असहमति जनाउँदै संशोधनको माग गरेका छन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यमार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रमा, प्रस्तावित विधेयकले निजी विद्यालयहरूको स्वायत्तता, शैक्षिक गुणस्तर र दीर्घकालीन स्थायित्वमा प्रतिकूल असर पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले विद्यालय शिक्षा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गरिएको केही व्यवस्थाहरू निजी शैक्षिक संस्थाहरूको भावी अस्तित्व र प्रगतिमा बाधक हुने बताए।
पोखरा महानगर प्रमुख आचार्यले ज्ञापनपत्र जिम्मेवार निकायसम्म पु-याउने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक क्षेत्रको सुधारमा सबै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
संस्थागत विद्यालयहरूका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको समग्र सुधारका लागि नीति निर्माण गर्दा सरोकारवाला पक्षहरूको समेत सहभागीता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
