
पोखरा। पोखराको ऐतिहासिक बाटुलेचौर मैदानमा हुने २६औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्रावण ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने यो प्रतियोगिता यसपटक थप व्यवस्थित र भव्य हुने आयोजकहरूले बताएका छन्।
प्रचार–प्रसार उपसमितिका संयोजक संजय थापाका अनुसार, प्रतियोगिताका लागि आन्तरिक तयारीबाहेक अन्य सबै तयारीहरू पूरा भइसकेका छन्। प्रतियोगितामा सहभागिताका लागि तोकिएको म्याद (मंगलबारसम्म) भित्र १६ वटा भजन टोलीहरूले टिम दर्ता गराएका छन्।
प्रतियोगितामा तनहुँको महेश्वर खनाल भजन समूह, धादिङको भद्रकाली खैंजडी भजन समूह, स्याङ्जाको हरिहर भजन कीर्तन समूह, साथै कास्कीका विभिन्न भजन टोलीहरू र विद्यालयका विद्यार्थीहरूको टोलीहरू समेत सहभागी हुनेछन्। प्रतिस्पर्धालाई निष्पक्ष बनाउन बुधबार गोलाप्रथाबाट टाइसिट सार्वजनिक गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलका अनुसार, प्रतियोगिता व्यवस्थापनका लागि गठन गरिएका २३ उपसमितिहरूले आवश्यक तयारी पूरा गरिसकेका छन् भने केही आन्तरिक कामहरू मात्र बाँकी रहेका छन्। प्रतियोगितास्थलमा व्यवस्थित मञ्च निर्माण, साजसज्जा र दर्शकको सुविधालाई ध्यानमा राखेर आवश्यक संरचना निर्माण गरिएको पौडेलले बताए।
कार्यक्रममा आमा समूह, टोल विकास संस्था तथा विभिन्न जातीय र धार्मिक संघसंस्थाहरू आ–आफ्नो पहिचान झल्किने सांस्कृतिक पोशाकमा सहभागी हुने शुक्ला साहित्य प्रतिष्ठानले जनाएको छ।
प्रतियोगिताका पुरस्कार
प्रथम पुरस्कार: नगद रु. १ लाख र प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद रु. ७५ हजार र प्रमाणपत्र
तृतीय पुरस्कार: नगद रु. ५० हजार र प्रमाणपत्र
सान्त्वना पुरस्कार: नगद रु. २५ हजार र प्रमाणपत्र
प्रत्येक सहभागी टिमलाई प्रोत्साहनस्वरूप: रु. ५ हजार
प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमका अनुसार, यसपटकको कार्यक्रम विगतका संस्करणहरूभन्दा अझ व्यवस्थित र आकर्षक हुनेछ। उपाध्यक्ष दीपेन्द्र बानियाँले कार्यक्रम सफल बनाउन ४ वटै स्थानीय तहसँग समन्वय गरिएको जानकारी दिए।
कृष्ण जन्माष्टमी पर्वलाई निरन्तर विशेष रूपमा मनाउँदै आएको यस क्षेत्रलाई भविष्यमा **”गोकुलधाम”**का रूपमा विकास गर्नु आवश्यक रहेको पनि आयोजकहरूले बताए। कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

