
पोखरा। सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले बिहीबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै फिल्मबारे जानकारी गराएको छ। आउँदो सेप्टेम्बर १२, २०२५ मा नेपालभर एकसाथ प्रदर्शन हुने यो फिल्मले डिजिटल युगको गम्भीर सामाजिक यथार्थ प्रस्तुत गर्ने दाबी गरिएको छ।
श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुलीले मिलियन भ्युज गहिरो सामाजिक सन्देश बोकेको सशक्त कथा भएको उल्लेख गर्दै फिल्मले नेपाली दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। उनले भारतमै फिल्म हेरेर कथावस्तु मन परेपछि नेपालमा रिलिज गर्ने निर्णय गरिएको जानकारी दिए।
फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतका अनुसार, मिलियन भ्युज एक साइकोलोजिकल थ्रिलर हो, जसले ब्ल्याक वेब, डिजिटल अपराध, र व्यक्तिगत आत्मसम्मानको संघर्षलाई पर्दामा उतारेको छ। २५ वर्षीया दृढ इच्छाशक्ति भएकी युवतीको ९० मिनेटभित्र १० लाख भ्युज ल्याउने अथवा साथीको ज्यान गुमाउने जस्तो कठोर ‘अल्टिमेटम’ फिल्मको मुख्य कथावस्तु हो।
राजपूतका अनुसार, फिल्मले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य, र अनलाइन संसारको अँध्यारो पक्ष उजागर गर्छ। करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको फिल्म नेपालका सयभन्दा बढी हलहरूमा रिलिज गर्ने योजना रहेको पनि उनले जानकारी दिए। काठमाडौंमा विशेष शोको तयारीसमेत भइरहेको छ। हाल फिल्म सेन्सर प्रक्रियामा रहेको छ।
‘नालापानी’ का निर्देशक रिनेश अधिकारीले मिलियन भ्युज को कथावस्तु नेपाल र भारत दुवैको सामाजिक परिवेशसँग मेल खाने बताए।
थिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको फिल्म आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो। अंशुल सिन्हा फिल्मका लेखक, निर्देशक तथा निर्माता हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल, र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ रहेका छन्।
फिल्म केवल थ्रिलर होइन, डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र आत्मसम्मानको प्रश्नबारे सोच्न बाध्य पार्ने सामाजिक टिप्पणी पनि रहेको दाबी गरिएको छ।
