
पोखरा। नेपाली लोक र आधुनिक संगीतको रौनक बोकेको ‘अब गाउँछ अमेरिका’ नामक भव्य सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते (अगस्ट ३०, २०२५) शनिबारका दिन अमेरिकाको न्यू ह्याम्पशायर राज्यको म्यानचेस्टर शहरमा आयोजना हुने भएको छ।
एभरेष्ट कल्चरल ग्रुप- अमेरिकाको आयोजनामा तथा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सह-आयोजनामा, तीजको पावन अवसरमा आयोजना गरिँदै गरिएको यो सांस्कृतिक उत्सव म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।
वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी
लोकप्रिय गायक प्रताप दास
गायिका एलिना चौहान
लोकदोहोरी गायिका कला लम्साल
यी कलाकारहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै अमेरिकास्थित नेपाली समुदायलाई भरपुर मनोरञ्जन दिनेछन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र टिकट बिक्री उत्साहजनक रहेको आयोजकले जनाएका छन्। एभरेष्ट कल्चरल ग्रुप अमेरिका र एनएच दिदीबहिनी समूहकी अध्यक्ष किरण गुरुङले यो कार्यक्रम नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
मुर्रा ब्रदर्स एनएचका अध्यक्ष सोम गुरुङले समुदायको माया र साथले कार्यक्रमलाई अझ सफल बनाउने आत्मविश्वास व्यक्त गरे। कार्यक्रमका महासचिव तथा उद्घोषक सुरेन्द्र गुरुङले अमेरिका भरि रहेका सबै नेपाली समुदायलाई यस ऐतिहासिक सांगीतिक साँझको साक्षी बन्न आह्वान गर्दै,
“यो उत्सव संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुल बन्नेछ,” भन्ने विश्वास व्यक्त गरे।
