
पोखरा। पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिनासम्म जारी रहेको श्रीमद्भगवद् गीताको प्रवचन कार्यक्रम (श्रीमदवीतक चर्चा) शुक्रबार सम्पन्न भएको छ। गत असार ३१ गतेदेखि सुरु भएको यस धार्मिक कार्यक्रममा साध्वी उर्वशी माताले प्रमुख वाचिकाको रुपमा प्रवचन दिएकी थिइन्।
समापन समारोहमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य तथा मन्दिरका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको बताए। साध्वी उर्वशी माताले सहज भाषामा प्रवचन दिँदै भक्तजनलाई प्रभावित पारेको उल्लेख गर्दै उनले श्रीकृष्ण पारायण कार्यक्रमका लागि पनि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले प्रवचनमा सुनेका शिक्षालाई व्यवहारमा उतार्न सके जीवन सफल हुने धारणा राखे। समितिका पूर्व अध्यक्ष लिलाम्बर सापकोटाले यस वर्ष पनि विगतझैं कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। उनले मन्दिरमा वर्षभर विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी पनि दिए।
समितिका सल्लाहकार विष्णु पहारीले कार्यक्रमको सफलतामा सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे। पूर्व अध्यक्ष बलराम सुवेदीले आगामी दिनमा हुने जुनसुकै कार्यक्रममा पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रम संयोजक केशव बरालले प्रवचन सहज र बुझ्न सकिने शैलीमा भएको भन्दै सहभागीहरूले लाभ लिएको बताए। बाइजुराज महिला समितिकी अध्यक्ष विष्णु पराजुलीले सबैको सहयोगमा कार्यक्रम सफल भएको जनाइन्।
युवा परिषद्का अध्यक्ष तोयानाथ सापकोटाले कार्यक्रमबाट सिकेका शिक्षालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले कार्यक्रम सफल बनाउन गठन गरिएका उपसमितिहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, साध्वी उर्वशी माता र सांगीतिक साथ दिने कलाकारलाई धन्यवाद ज्ञापन गरे।
यसैबीच, श्रीकृष्ण जन्माष्टमीको अवसरमा भाद्र २ गते (शनिबार) बिहान मन्दिर परिसरमा रक्तदान कार्यक्रम र साँझ श्रीकृष्ण प्रकाट्य उत्सव आयोजना गरिने समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए।
