कृषिमा आत्मनिर्भरताका लागि कास्कीमा नीति कार्यान्वयनको तयारी, वास्तविक किसान लक्षित कार्यक्रम सार्वजनिक

Share:

पोखरा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कास्कीमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक तथा आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। उद्घाटन मन्तव्यमा उनले उत्पादनमुखी, व्यावसायिक तथा आधुनिकीकरण कृषि प्रणालीको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै, वास्तविक किसानले लाभ पाउने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै, कास्की जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।

प्रमुख पौडेलले युवा सहभागीता सुनिश्चित गरी उनीहरूको संरक्षण र दिगोपनाका लागि युवा–केन्द्रित कृषि नीति थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनले सरकारी लक्ष्य प्राप्तिका लागि सबै पक्षबीचको सहकार्य र समन्वय अझ घनिभूत हुनुपर्नेमा जोड दिए। साथै, बिषादी सचेतना कार्यक्रमलाई व्यापक बनाउँदै प्राङ्गारिक कृषि प्रविधिको प्रवर्द्धनमा जोड दिनुपर्ने पनि उनले उल्लेख गरे।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगत वर्षमा देखिएका समस्या समाधान गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। उनले कृषि क्षेत्रमा लागेका युवाहरूको मनोबल उच्च राख्न प्रेरणा र साथ आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, तरकारी सुपरजोनका संयोजक कृष्णप्रसाद सुवेदी, जिल्ला वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्ले, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल तथा सञ्चारकर्मी रामचन्द्र बराल र कमल पौडेल अथक लगायतले आ-आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कास्कीका कार्यालय प्रमुख माधव लम्सालले आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै तिनको कार्यान्वयन रणनीतिबारे प्रकाश पारे। साथै, २०८१/८२ का कार्यक्रम तथा योजनाहरूको समीक्षा समेत गरिएको थियो।

नेपाल सरकारले यसअघि रहेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ को नाम परिमार्जन गर्दै चालू आर्थिक वर्षदेखि यसलाई ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम’ नामकरण गरेको हो। उक्त कार्यक्रममा कास्कीस्थित विभिन्न सरोकारवाला निकायका प्रमुख, कृषक प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठले जानकारी दिए। कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: