
पोखरा । छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा ६२ युनिट रगत संकलन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष कृष्ण थापा र सैनिक आवासीय महाविद्यालयकी शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
थापा नियमित रक्तदाता हुन्, जसले सो दिन आफ्नो ८२औं रक्तदान आफ्नो जन्मदिनको अवसरमा गरेका हुन् । समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मल्लले छाङ्गेली नेवाः खल समाजले सांस्कृतिक कार्यक्रमसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएको उल्लेख गरे ।
उनले भने, “संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता सधैं रहने भएकाले समाजले मानव कल्याणका लागि निरन्तर समर्पित रहनुपर्छ।”
कार्यक्रममा बोल्दै कृष्ण थापाले आफू हरेक तीन महिनामा नियमित रूपमा रक्तदान गर्ने गरेको उल्लेख गर्दै, पितृ उद्धारका लागि गरिएको यस रक्तदान कार्यक्रमको प्रशंसा गरे।
प्रदेश रक्तसंचार केन्द्र, पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वलाई जोड दिंदै भने, “अस्पतालमा उपचाररत बिरामीलाई रगतको सट्टामा रगत नै आवश्यक पर्न सक्छ, त्यसैले रक्तदानलाई जीवनदान भनिएको हो।”
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष श्याम मल्ल, महासचिव गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिव जयराम कायस्थलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन समाजका सदस्य सञ्जय मल्लको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको थियो। आर्थिक व्यवस्थापन उपसमितिमा संयोजक श्याम मल्ल, सदस्यहरू हेमन्त मल्ल र बालकृष्ण श्रेष्ठ, प्रचार-प्रसार उपसमितिस् संयोजक जयराम कायस्थ, सदस्यहरू सूर्यराज राजभण्डारी र कृष्ण मल्ल, अतिथि सत्कार उपसमितिमा संयोजक सुना मल्ल, सदस्यहरू रमेश मल्ल, सयना श्रेष्ठ, प्रमाणपत्र तथा मायाको चिनो उपसमितिमा संयोजक रामप्रताप मल्ल, सदस्य मोहन मल्ल ,जलपान व्यवस्थापन उपसमितिमा संयोजक मिलन श्रेष्ठ, सदस्यहरू मणिराज मल्ल र रामलाल श्रेष्ठ रहेका थिए। कार्यक्रम प्रदेश रक्तसंचार केन्द्र, पोखराको प्राविधिक व्यवस्थापनमा सम्पन्न गरिएको थियो।
