पोखराको लामाचौर-इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Share:

पोखरा। पोखराको लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गरेका थिए।

उद्घाटन मन्तव्यमा उनले गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिलाई प्रशंसनीय बताए। उनले इन्द्रराज्य लक्ष्मी विद्यालयले पोखरा महानगरभित्रकै शैक्षिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माध्यमिक शिक्षा परीक्षामा औसत जिपिए ३।६० भन्दा माथि पुर्‍याउने लक्ष्यसहित पूर्वप्राथमिक तहलाई मण्टेश्वरी अवधारणाअनुसार सञ्चालन गरिने जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले सभाहल निर्माण, नयाँ विद्यालय बस थप तथा छुट्टै रहेको जग्गाको दर्ता प्रक्रिया अगाडि बढाइएको जानकारी गराए।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका सल्लाहकार शोभा मोहन पौडेल, महेन्द्र मावि घार्मीका प्रअ वासुदेव पौडेल, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई। दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नेत्रबहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री लगायतले शैक्षिक गतिविधिका बारेमा मन्तव्य राखेका थिए।

कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा माध्यमिक तहका शिक्षक सन्तोष आचार्यलाई सम्मान गरिएको थियो। यस्तै, सहायक प्र।अ। बलबहादुर श्रेष्ठ, शिक्षक पदमकुमारी अधिकारी, कमला पौडेल, सिर्जना थापा, बालकुमारी रसाइली तथा कार्यालय सहयोगी नारायण गौतमलाई पनि सम्मान प्रदान गरिएको थियो।

माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मिसन भुजेललाई नगद रु २५ हजार पुरस्कार प्रदान गरिएको थियो। साथै कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरू बलबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ, सीता पौडेल, गीता कुमारी शर्मा, सन्तोष आचार्य, दीपक गौतम, दीपक आचार्य, स्वामी श्रेष्ठ र रिता अधिकारीलाई पनि सम्मान गरियो। सम्मान प्रमुख अतिथि हेमप्रसाद आचार्य, इकाइ प्रमुख लोकनाथ आचार्य, वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र अमृत शर्मा तिमिल्सिनासहित अन्य अतिथिहरूले प्रदान गरेका थिए।

सो अवसरमा विभिन्न समितिका संयोजक तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो। विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार तथा विभिन्न छात्रवृत्तिहरू वितरण गरेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक सीता पौडेलले गरेकी थिइन्।

झण्डै एक हजार विद्यार्थी अध्ययनरत विद्यालयले आगामी तीन वर्षभित्र विद्यार्थी संख्या दुई हजार पुर्‍याउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको जानकारी दिइएको छ। कार्यक्रममा विविध सांस्कृतिक नृत्य, भजन तथा झाँकीहरूको आकर्षक प्रस्तुति गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: